नेकपाद्धारा जनसंघर्षका कार्यक्रम घोषणा

१० कार्तिक, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुशिला कार्की नेतृत्वको कठपुतली सरकारको खारेजीको माग गर्दै स्वाधीनता र समाजवादका लागि जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ ।
नेकपाले कार्तिक २० गते काठमाडौमा गर्न लागेको विशाल जनप्रदर्शन सहितको जनसभा गर्नु अघि विभिन्न जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो ।
नेकपाको असोज २५ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जनसंघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो ।
घोषित जनसंघर्षका कार्यक्रमहरुमा कात्तिक १३ गतेसम्म भित्ते लेखन गर्ने कार्यक्रम रहेको छ ।
जसमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, युवाहरूका लागि रोजगारीको ग्यारेन्टी गर लगायतका नाराहरु लेखिने छन ।
यस्तै नेकपाले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्ने र कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने कार्यक्रम राखेको छ । नेकपाले कात्तिक २० गते काठमाडौँमा बृहत् जनप्रदर्शन सहित जनसभा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस