कार्तिक ११ वाँके । तुलसीपुरमा गएराति एक व्यक्तिमाथि सामुहिक सांघातिक हमला भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि सांघातिक हमला भएको हो । आक्रमणबाट विक गम्भीर घाइते भएका छन् ।
विकमाथि तुलसीपुर १२ गोलौरीमा आक्रमण भएको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले दिनु भएको छ ।
विक बाँया खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले गएराति उद्धार गरेर अस्पताल पु¥याएको डिएसपी सिंहले बताउनु भयो । उहाँको दुबै हातमा पनि धारिलो हतियार प्रहार भएको छ ।
घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी सिंहले जानकारी दिनु भयो । अत्यधिक रक्तस्राव भएका कारण घाइते विकको अवस्था चिन्ताजनक रहेको छ ।
‘गएराति नै हामीले तुलसीपुरमा रगत दिएर घाइतेलाई नेपालगञ्ज पठाएका हौं,’ डिएसपी सिंहले भन्नु भयो ‘खुट्टा छिनालिएको हुँदा अत्यधिक रक्तस्राव भएको छ । घाइतेको अवस्था चिन्ता जनक छ ।’
घाइते विक गोलौरीमा भान्जाको विहे खान भनि जानु भएको थियो । भान्जाको घरबाट नवलपुरस्थित घर तर्फ जाँदै गर्नु भएका विकलाई पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले सांघातिक आक्रमण गरेर शक्त घाइते तुल्याएको प्रहरीले बताएको छ । गएराति दश बजेतिर प्रहरीले बिकलाई घाइते अवस्थामा फेला पारेर उद्धार गरि अस्पताल पु¥याएको थियो । यसैबीच प्रहरीले बिकमाथि सांघातिक हमला गर्ने व्यक्तिहरुको खोजी भइरहेको बताएको छ ।
गौलौरीका एक स्थानीय युवाले दिएको जानकारी अनुसार दशैंको दिन बेलुका स्थानीय चौधरी युवाहरूका बीचमा आपसमा कुटाकुट भएको थियो । उनीहरू मध्ये बाटो ढुकेर बसेको एक समुहले नचिनेर विकमाथि सांघातिक आक्रमण गरेको हुन सक्ने आशंका प्रहरीले पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस