१० कार्तिक,कालिकोट । नेकपाले कात्तिक आज देशभर पार्टीका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृति र सम्मानमा श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालयस्रोतले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालयले नेता वीरजङ्गको घर रहेको गाउँ कपिलवस्तुको शिवगढीमा र पार्टीका जिल्ला समितिहरूले जिल्लाजिल्लामा श्रद्धाञ्जलीसभाहरू आयोजना गरेका छन ।
केन्द्रीय कार्यालयले शिवगढीमा आयोजना गर्ने कार्यक्रममा पार्टी महासचिव विप्लव र केन्द्रीय सचिवालयका सदस्यहरूले नेता वीरजङ्गको जीवनी र उनले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानका बारेमा चर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
त्यसैगरी जिल्ला सदरमुकाम र स्थानीय स्तरसम्म आयोजना गरिने श्रद्धाञ्जलीसभामा केन्द्रीय सदस्यहरू, विशेष समितिका सदस्यहरू, जिल्ला समिति, जवस मोर्चाका नेताहरूले नेता वीरजङ्गका योगदानहरूका बारेमा परिचर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा मुटुरोगको उपचार गराइरहेकै अवस्थामा असोज २८ गते राती ६१ वर्षको उमेरमा नेकपाका
पूर्वपोलिटब्युरो सदस्य एवम् वर्तमान केन्द्रीय सदस्य वीरजङ्गको असामयिक निधन भएको थियो ।
विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म सहभागी हुँदा हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो ।
दुईपटकसम्म उहाँको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उहाँलाई कोरोना सङ्क्रमणसमेत भएको थियो ।
२०१७ साल फागुन ७ गते रोल्पाको इरिबाङमा जन्मिनु भएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुनुहुन्छ । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।
प्रतिक्रिया दिनुहोस