कि सास कि लास चाहियोः वेपत्ता व्यक्तिका परिवारजन

मंसिर १२,कालिकोट । आफ्ना वेपत्ता प्रिय आफन्तको यथाशिघ्र कि सास त कि लास चाहिएको कालिकोटका वेपत्ता व्यक्तिका आफन्तहरुले माग गरेका छन । जनयुद्धको वेला राज्यका तर्फवाट आफ्ना निर्दोश आफन्जनहरु सेना प्रहरीले वेपत्ता पारेको भन्दै अहिले सम्म अत्तोपत्तो नहुनु राज्यको तर्फ वाट गम्भीर त्रुटी भएको आक्रोस पोखेका छन ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सदरमुकाम मान्ममा विहिवार आयोजना गरेको पीडित पहिचान तथा परिचयपत्र वितरण अन्तरक्रिया कार्यक्रममा वेपत्ता परिवारजनहरुले यस्तो आक्रोस पोखेका हुन ।

देशमा चलेको १० वर्षिय जनयुद्धका क्रममा राज्यका तर्फ वाट जिल्लाभर करिव ४५ जना व्यक्ति वेपत्ता पारिएका छन ।

शान्ति सम्झौता भएको १४ वर्ष विति सक्दा पनि जनयुद्धका क्रममा राज्य र तत्कालिन विद्रोही पक्ष वाट वेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरिएको छैन ।

जनयुद्धका वेला माओवादीको आरोपमा राज्य द्धारा पति बेपत्ता पारिएका सान्निवित्रेणी गाउँपालिका–६ कि सुपारी लुहारले आफ्नो श्रीमान ‘१८ वर्ष अघि पक्राउ गरि वेपत्ता पारिएको भएपनि अहिले सम्म कुनै सास र लास नपाइएको दुखेसो पोख्नु भयो ।

खाडाचक्र नगरपालिका–२ का नरेन्द्र बोगटीले राज्य द्धारा बुवा वेपत्ता भएको बर्षौ वित्दा पनि अहिलेसम्म जीवित छन् या मारिए कुनै जानकारी पाउन नसकेको गुनासो सुनाउनु भयो ।

उहाँले भन्नु भयो ‘म सानो थिए वुवाको अनुहार अलि अलि सम्झन्छु, अहिले पनि सेना, पुलिस देख्दा डर लाग्छ, ।’ बोगटीले ‘न पार्टी न राज्य कसैले पनि आफ्नो दुख नवुझेको वताउनु भयो ।’

सान्निवित्रेणी गाउँपालिका–६ का वडा अध्यक्ष रंगराज सार्कीले आफ्ना २ भाई राज्यद्धारा बेपत्ता पारिएको भन्दै अहिले सम्म अत्तो पत्तो नलागेको वताउनु भयो ।

बेपत्ता पारिएका व्यक्तिका आफन्तजनहरुले अझै पनि आफ्ना मान्छेहरू आउने आस मारिसकेका छैनन् । तर राज्यको आलटाले प्रवृति हेर्दा वेपत्ता व्यक्तिका आफन्तजनहरु वेपत्ता व्यक्ति जीवितै भेटिनेमा ढुक्क विश्वासमा पनि छैनन् ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारमा आफन्त आउने आश अझै नमरेको अधिवक्ता हिक्मत बहादुर विष्ट वताउनु हुन्छ ।

खाडाचक्र नगरपालिका–११ का रुद्धे तिरुवाले माओवादीको कमाण्डर भनेर आफ्नो निर्दोश कान्छो भाईलाई राज्य वाट बेपत्ता पारियो अहिले सम्म न सास न लास केहि पनि नपाईएको वताउनु भयो ।

खाडाचक्र नगरपालिका–२ का कलबहादुर बोगटीले आफ्नो छोरा निर्मल बोगटी बेपत्ता भएको बर्षौ वित्दा पनि राज्यले आफ्नो संरक्षण नगरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले राज्य परिवर्तनमा बेपत्ता भएकाको योगदान ठुलो भएपनि समयमै उनीहरुको अवस्था सार्वजनिक गर्न नसकिनु दुखद पक्ष भएको वताउनु भयो ।

उहाँले, आयोगले न्याय दिनका लागि विभिन्न जिल्लाका पीडितहरुसंग अन्तरक्रिया गर्दै आएकाले अव पीडितलाई छिट्टै न्याय दिने प्रतिवद्धता पनि जनाउनु भयो । सरकारले द्धन्द्धकालिन समयमा वेपत्ता पारिएका व्यक्तिको सत्य तथ्य छानविन गरि सार्वजनिक गर्न वेपत्ता पारिएका व्यक्ति छानविन आयोग गठन गरेको थियो ।

आयोग देखाउने हात्तीको दाँत जस्तै गठन गरिएपनि पीडित परिवारले भने अहिले सम्म न्याय पाएका छैनन् । आयोगका पदाधिकारी नियुक्तमा राजनीति भागवण्डा हुने गरेकाले पनि निश्पक्ष कामहरु हुन नसकेको चौतर्फि आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस