नदी तर्न लागेको डोजर पल्टिँदा कालिकोटमा एक बेपत्ता

१२ पुस, कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका-८ चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा जेसीबी (डोजर) पल्टिँदा एक जना बेपत्ता भएका छन्।

कर्णाली करिडोरबाट नदी पारि जारकोट जाने क्रममा नदीमा डोजर पल्टिँदा डोजरसहित पचालझरना-८ का ४० वर्षीय कुस्माखर सन्ज्याल बेपत्ता भएका हुन ।

पचालझरना-८ खडतोली निवासी निर्माण व्यवसायी मुक्ति सन्ज्यालको डोजर अपराह्न ५ बजेतिर नदी पार गर्नेक्रममा पल्टिएको कालिकोटका निमित्त प्रहरी प्रमुख गोविन्द चौधरीले बताए ।

चाटेबगरबाट कर्णाली तारेर वडा नं ४ मा ठेक्काको काममा लैजानेक्रममा डोजर नदीमा पल्टिएको स्थानीय प्रकाश सेजुवालले बताए।

पचालझरना-८ चाटेबगरदेखि पचालझरना ४ जारकोट जाने क्रममा कर्णालीमा निर्माण व्यवसायीका प्रतिनिधि बेपत्ता भए ।

नदीमा तैरिरहेका चालक खाँडाचक्र नगरपालिका ८ का नमराज मल्ललाई स्थानीयको सहायतामा उद्धार गरिएको पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमले जानकारी दिइन्।

चालकलाई अहिले इलाका प्रहरी कार्यालय पचालझरनाको नियन्त्रणमा राखेर सोधपुछ भइरहेको र बेपत्ता सन्ज्यालको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस