१५ माघ, काठमाडौं । आगामी वैशाखका लागि घोषित मध्यावधि निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने अन्तिम तयारीमा रहेको निर्वाचन आयोगले शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै समूहलाई छलफलमा बोलाएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र पठाएर शुक्रबार बिहान साढे ११ बजे दुबै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५र५ जनालाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
स्रोतका अनुसार पत्रमा निर्वाचनसम्बन्धी छलफलका लागि भनिएको छ । तर, नेकपाको विवादमै कुराकानी हुनेछ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाएको छ र माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ ।
अर्का अध्यक्ष ओलीले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्नु भएको छ ।
आयोगका अधिकारीहरूका अनुसार प्रचण्ड–माधव र ओली समूहबीच शुक्रबार हुने छलफल वा दल दर्ता गर्नेबेलासम्म कुनै सहमतिमा नभए नेकपा दल दर्ता नहुन सक्छ । त्यस्तो अवस्थामा वैशाखमै मध्यावधि चुनाव हुने भयो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चुनाव चिह्न प्रयोग हुँदैन ।
आयोगले यसलाई फ्रिज गर्ने सक्ने निर्वाचन आयोगका अधिकारीहरुले वताएका छन ।