१५ चैत्र, काठमाडौ । समाजवादी मोर्चाका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालको गणतन्त्र दलालहरुले कव्जा गर्दा सामन्ती राजतन्त्रका भुतहरुले टाउको उठाएको बताउनु भएको छ ।
चार दलीय समाजवादी मोर्चाले काठमाडौमा शुक्रवार आयोजना गरेको जनप्रदर्शन सहितको विशाल जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालको गणतन्त्र दलालहरुले कव्जा गर्दा सामन्ती राजतन्त्रका भुतहरुले टाउको उठाएको बताउनु भएको हो ।
नेपालको गणतन्त्र नेपाली जनताको भईनसकेका कारण प्रतिगामीहरुले टाउको उठाउन पाएको जिकिर गर्दै उहाँले अग्रगामीहरु नेपाली विशेषताको समाजवादमा जानु को विकल्प नभएको बताउनु भयो ।

महासचिव विप्लवले भन्नु भयो, ‘हामी उज्यालो तिर जान चाहान्छौ, सामन्तवादको अध्यारोतिर होईन, ‘जसले हारे, सत्ता गुमाए, स्वर्गको आनन्द भङ्ग भयो उनीहरू विदेशी शक्तिको आडमा गणतन्त्र विरुद्ध षड्यन्त्र गरिरहेका छन । हामीलाई कुनै सामन्तीहरूको खाँचो छैन ।’
उहाँले नेपाल रुपान्तरणका लागि नेपाली जनता आफै योग्य भएको तर्क गर्दै प्रतिगमनका पक्षमा जनता नभएको बताउनु भयो ।
महासचिव विप्लवले अग्रगामीहरु एउटा समान्तवाद र अर्को दलाल पुँजीवादका विरुद्ध लडेको स्मरण गर्दै सामन्तवाद परास्त भएपनि दलाल पुँजीवाद नेपालमा परास्त नभएकाले अहिलेको समस्या आएको दाबी गर्नु भयो ।

महासचिव विप्लवले नेपालमा दलाल पुँजीवाद परास्त गरेर नेपाली विशेषताको समाजवाद नल्याएसम्म किसान,मजदुर, महिला ,दलित, सुकुम्वासी लगायत उत्पीडितहरुको अधिकार प्राप्त नहुने बताउनु भयो ।
‘२५० बर्षसम्म राजतन्त्रले के गर्यो ? नयाँ पुस्ताले बुझन जरुरी छ’ महासचिव विप्लवले प्रश्न गर्दै भन्नु भयो, ‘अहिलेको सामन्तवाद समाधान होईन,केही उट्पट्ङ्ग मान्छेहरु र विभिन्न तत्वहरुले राजतन्त्र फर्काउने कुरा गर्दैछन । फर्केर के गर्ने हो ? प्रशनमा व्यक्त भएका पात्रहरुले केही पनि हुनेछैन ।’
विप्लवले नेपाली जनता सामन्तवादको पैतलामा दबिएको शासन विरुद्ध लडेकाले अब कुनै पनि हालतमा महासामन्त र प्रभूहरुको नेपालमा खाँचो नभएको स्पष्ट पार्दै प्रतिगामी चलखेल बन्द गर्न चेतावनी दिनु भयो ।

