१५ चैत्र, काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारका कारणले प्रतिगामीहरुले टाउको उठाएको बताउनु भएको छ ।
समाजवादी मोर्चा नेपालले शुक्रवार काठमाडौमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले सरकारका गलत कामका कारणले प्रतिगामीहरुले टाउको उठाएको बताउनु भएको हो ।
उहाँले संविधानले दिएका अधिकार लागु नगर्दा र लागु गर्ने ठाउँमा बसेकाहरुले चिन्ता नगर्दा प्रतिगामीहरु सलबलाएको बताउनु भयो ।
अध्यक्ष नेपालले ओली सरकारलाई चेतावनी दिर्दै भन्नु भयो ‘खवरदार ! भ्रष्टाचार विचौलिया र कमिशन तिर सरकारले ध्यान दिदैछ । जनताको पीडा बोल्दैन, लोकतन्त्रको मुल्य मान्यता विर्सिएको छ, तिम्रो कारणले गर्दा प्रतिगामीहरुले टाउको उठाएका छन, सरकार सुधारिहोस् ।’
उहाँले जुनसुकै प्रतिगामी र यथास्थितिवादी षड्यन्त्रको विरुद्ध समाजवादी मोर्चाले प्रतिरोध गर्ने चेतावनी दिनु भयो ।
‘नेपालको अग्रगामी निकास न त प्रतिगामी राजतन्त्र हो, नत यथास्थितिवाद हो, अबको निकास एकमात्र नेपाली विशेषताको समाजवाद हो । त्यो भन्दा अर्को विकल्प छैन’ अध्यक्ष नेपालले भन्नु भयो । उहाँले नेपाली विशेषताको समाजवादी क्रान्तिमा लाग्न पनि सबैमा अपिल गर्नु भयो ।