राजावादीको आन्दोलन हिंसात्मक बन्दा दुर्गा प्रसाईंलाई पक्राउको तयारी

१५ चैत, काठमाडौं । राजावादी समुहले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि आन्दोलनको कमाण्ड भनिएका दुर्गा प्रसाईलाई सरकारले पक्राउको तयारी गरेको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको र कार्वाही गर्ने तयारी भईरहेको बताउनु भएको छ ।

सरकारले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले प्रसाईलाई कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ ।

शुक्रबार उहाँ आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा प्रदर्शनमा जानु भएको थियो । त्यसक्रममा उहाँ ‘आओ–आओ’ भन्दै उहाँले गाडी चलाउँदै अघि बढेको भिडियोमा देख्न सकिन्छ ।

उग्ररुपमा गाली गर्दै गाडी चलाउँदै अघि बढनु भएका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेर निषेधित क्षेत्र तोडन खोज्नु भएको थियो । प्रहरीले उहाँको गाडी रोख्न खोजेको थियो । तर उहाँ भने प्रहरीलाई नै पेल्दै अघि बढनु भएको थियो ।

निषेधित क्षेत्र तोडेर अघि बढनु भएका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको हो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उहाँलाई बाटो छोडेको भिडिओमा देखिएको छ ।

त्यसपछि अवस्था तनावग्रस्त बन्न थाल्यो भने राजावादीहरुले ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस