भारतका माओवादी महासचिव मारिएको घटनाको विप्लवले गरे घोर भत्सर्ना

१४ जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव वसराजु सहित २६ जना मारिएको घटनाको घोर भत्सर्ना गरेको छ ।
नेकपाका महासचिव विप्लव सीले बुधवार एक वक्तव्य जारी गर्दै भारतीय साम्राज्यवादी सत्ताले संचालन गरेको विनासकारी हत्या अभियानमा जिउँदै समाएर महासचिव बसवराजु सहित २६ जनालाई कायरतापूर्ण हत्या गरेको भन्दै घोर भत्र्सना गर्नु भएको हो ।
नेकपाले माओवादी नेतृत्वले राजनीतिक सम्बाद एवं वार्ताका लागि युद्ध विराम गरेर समस्या समाधानका लागि पहल गर्दागर्दै पार्टीभित्रका गद्दार, भ्रष्ट, आत्मसमर्पणकारी तत्वहरुलाई प्रयोग गरेर भारतीय साम्राज्यवादले हत्या गरेको खुलासा गरेको छ ।
नेकपाले राजनीतिक नेतृत्वको यस्तो अमानवीय, अराजनीतिक, अनैतिक हत्याको निश्पक्ष छानवीन र दोषीलाई कार्यवाहीका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदाय, मानवधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानकर्षण गराएको छ ।
नेकपाले बसवराजु सहितको हत्याको खवरले आफ्नो पार्टीलाई स्तव्ध बनाएको भन्दै साहदत्त प्राप्त गर्ने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपाको बक्तव्यमा भनिएको छ ‘भारतीय जनताको मुक्ति, नयाँ जनवाद, वैज्ञानिक समाजवादका लागि क्रान्तिका मोर्चामा निर्भिकतापूर्वक लड्दै उच्च साहदत प्राप्त गर्ने भाकपा (माओवादी) का महासचिव कमरेड बसवराजुसहित २६ जनता महान सहिद कमरेडहरुप्रति अन्तर्राष्ट्रिय भाइचारा भावनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । कुशल एवं साहसी नेतृत्वको साहदतबाट मर्माहित भएका भाकपा (माओवादी) पार्टी परिवार, सहिदहरुका आफन्तजन, भारतीय श्रमिक जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’
नेकपाले २०८२ जेठ ८ पछि भाकपा (माओवादी) का महासचिव बसवराजुको साहदत भएको प्रचारले विश्व तरङ्गित बन्दै गएपनि जेठ १३ गते भाकपा (माओवादी) को डण्डकारण्य स्पेशल जोनका प्रवक्ता विकल्पको आधिकारिक वक्तव्य आएपछि थप स्पष्ट भएको भन्दै साहदतको खबरले आफ्नो पार्टी र नेपाली श्रमिकवर्गलाई स्तब्ध एवं मर्माहत बनाएको वक्तव्यमा उल्लेख गरेको छ ।
नेकपाले सत्ताको बलले जति नै हत्या, नरसंहार मच्चाए पनि जति नै सफलताको हल्ला फैलाए पनि त्यो लुटेराहरुको क्षणिक आत्मरति मात्र भएको भन्दै सत्य र न्यायको लडाइ विजयी भइ छोड्ने ठोकुवा गरेको छ ।
‘क्रान्तिको मूल्य ज्यादै चर्को हुन्छ । परन्तु चर्को मूल्यको बलमा नै मानव जातिले नवीन एवं महान सभ्यताको ढोका खोल्दै आएको छ’ नेकपाको वक्तव्यमा भनिएको छ
‘भाकपा (माओवादी) ले पछिल्लो राजनीतिक इतिहासमा जनताको लागि जुन उच्च मूल्य चुकाएको छ त्यसको महत्व र उपलब्धि पनि एकदिन प्रमाणित हुने छ । सत्ताको बलले जति नै हत्या, नरसंहार मच्चाए पनि जति नै सफलताको हल्ला फैलाए पनि त्यो लुटेराहरुको क्षणिक आत्मरति मात्र हो । सत्य र न्यायको लडाइ विजयी भइ छोड्छ’ वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा १९६० को दशकदेखि भारतका किसान(मजदुर, आदिवासी, महिला, श्रमिक समुदाय, बुद्धिजीवी, विद्यार्थीहरु आफ्नो मुक्ति एवं भारतमा नयाँजनवाद – वैज्ञानिक समाजवाद स्थापनाका लागि महान जनयुद्ध चलाईरहेको भन्दै भाकपा (माओवादी) ले अनेकौं उचारचढावसहित दशकौंदेखि सफल नेतृत्व गर्दै आएको उल्लेख छ ।
नेकपाले १९७२ मा महासचिव चारु मजुमदारको साहदतपछि महासचिव बसवराजुको साहदत हुन पुगेको भन्दै भारतीय श्रमिक जनताका लागि यो ज्यादै पीडाले भरिएको गौरवपूर्ण पक्ष भएको दाबी गरेको छ ।
नेकपाले बलिदानले विश्व श्रमिकवर्गको मुक्ति मार्गमा युगयुगसम्म उज्यालो प्रकाश दिने विश्वास व्यक्त गरेको छ ।
नेकपाले आफ्नो वक्तव्यको अन्त्यमा पीडाको घडिमा नेपाल कम्युनिस्ट पार्टी भाकपा .(माओवादी) र भारतीय श्रमिक जनतासँग एकसाथ रहेको घोषणा गर्दै विश्वभरीका कम्युनिस्ट एवं श्रमिकवर्गलाई भाकपा (माओवादी) सँग एकाकार बन्न विशेष अपिल पनि गरेको छ ।

विज्ञप्तिको पूणपाठ

प्रतिक्रिया दिनुहोस