कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कालिकाट जिल्ला र सी गाउँ माल्कोट साम्यवादी सत्ताको जग भएको ठोकुवा गर्नु भएको छ ।
नेकपा कालिकोटले माल्कोटको सेरापाटामा आयोजना गरेको जनसभालाई आईतवार सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले कालिकोट र माल्कोट साम्यवादी सत्ताको जग भएको ठोकुवा गर्नु भएको हो । उहाँले साम्यवादी सत्ताको जग भएको कालिकोट जिल्ला र माल्कोटले दलाल पुँजीवादी सत्ता विरुद्ध संघर्ष गरिहनु पर्ने बताउनु भयो ।
उहाँले नेपालको सामन्तवादी राजतन्त्रात्मक सत्ता र गणतन्त्रपछिको दलाल सत्ताका विरुद्ध कालिकोटको माल्कोटी जनताले ऐतिहासीक संघर्ष गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।
उहाँले कालिकोटे र माल्कोटी जनतालाई जनयुद्ध देखि एकीकृत जनक्रान्तिमा ठुलो बलिदान गरेको भन्दै विशेष धन्यवाद दिनु भयो ।
माल्कोटी जनताले जनयुद्धमा जनदमन गर्न गाँउमा आएको प्रहरी विरुद्ध प्रतिरोध गरी हतियार खोसी पार्टीलाई समेत बुझाउने सम्मको काम गरेका थिए । यो ठुलो प्रतिरोध थियो । यस्तै एकीकृत जनक्रान्तिमा पनि चुनाव वहिष्कारमा धनवहादुर बटालाको पहिलो बलिदान भएको थियो । जसले गर्दा माल्कोट निकै संघर्षको भूमि पनि हो ।
प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘कालिकोट र माल्कोटको जनताको सामान्य संघर्ष छैन, यहाँका जनताको ठुलो बलिदान छ, कालिकोट र माल्कोट भनेको साम्यवादी सत्ताको जग हो । यहाँका जनताले राज्यले समेत गर्न नसकेको काम सडक निर्माण समेत गरेका छन । तपाई यहाँको जनता विशेष धन्यवादको पात्र हुनुहुन्छ ।’
उहाँले संघर्ष विना समाज परिर्वतन नहुने जिकिर गर्दै समग्र कालिकोट र माल्कोटको जनतालाई दलाल सत्ताको अत्याचारका विरुद्ध संघर्ष गरिरहन अपिल गर्नु भयो ।
‘हाम्रो पार्टी जनताको पार्टी हो,जनताको सत्ता नआउदा सम्म नेपाल कम्युनिष्ट पार्टी संघर्ष गरिरहन्छ, यो पार्टीको संघर्षको जीवन हो’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
उहाँले नेपालमा दलाल पुँजीवादी सत्ता र समाजवादी सत्ता बिचको अन्तरविरोध र संघर्ष चलेको बताउनु भयो । प्रवक्ता प्रकाण्डले भन्नु भयो ‘एउटा शोषक वर्ग दलाल पुँजीवादी सत्ता संरक्षणमा लागेको छ, अर्को उत्पीडित श्रमजीवी वर्ग समाजवाद ल्याउन चाहिरहेको छ । यो वर्गीय संघर्ष हो । वर्गीय लडाई हो । हामी श्रमजीवी,किसान,मजदुर वर्गको पक्षमा निरन्तर लाग्ने छौ । कुनै पनि हालतमा जनताको मुक्तिको संघर्षलाई नेकपाले छोड्नेवाला छैन । तपाईहरु पनि आफ्नो संघर्ष जारी राख्नु होस ।’
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले देशभर कृषि क्रान्ति गरिरहेको बताउनु भयो । उहाँले पार्टीले देशभर करिव ३ सय विगाह क्षेत्रफलमा धान रोपाई गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालमा कृषि उत्पादनमा कोही छ त नेकपा छ, यसले आफ्नै उत्पादनमा जाजरकोटका भूकम्प पीडितलाई समेत १०० वोरा चामल राहत पठाएको छ, यसले दलाल पुँजीवादी सत्तामा भुकम्प गएको छ । हामी देशलाई,जनतालाई र पार्टीलाई आत्मनिभर वनाउन चाहान्छौ । यो देशमा समाजवादी अभ्यास गर्न चाहान्छौ र गरिरहेका पनि छौ ।’
‘नेपालमा दलाल पुँजीवादी सत्ता पूर्ण असफल भएकोछ ,यसको विकल्पमा समाजवाद चाहिन्छ’ उहाँले भन्नु भयो, ‘नेपालमा खान पाउने, रोजगारी पाउने, वस्न पाउने, स्वास्थ्य उपचार पाउने र शिक्षा निशुल्क पाउने समाजवादी व्यवस्था चाहिन्छ, नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको निकास हो । समाजवादका लागि सबै माओवादी कम्युनिष्ट तथा प्रगतिशील देशभक्त शक्ति एकहुनपर्छ ।’
उहाँले आफू लामो समय देखि विरामी हुदा दलाल तथा साम्राज्यवादीहरु खुसी हुन खोजेकाले स्वास्थ्यमा राम्रो सुधार नभएपनि पार्टीकाममा लागेको बताउनु भयो । जनता र पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुमा साम्राज्यवादी तथा दलालहरुले प्रकाण्ड कहिल्यै पनि राजनीतिमा नर्फिने गरी सञ्चो नहुने गरी विरामी भएको भनेर निरासा फैलाउने खालको भ्रम छरेको पनि टिप्पणी गर्नु भयो ।
उहाँले फेरी पनि कालिकोट र माल्कोटवासी जनताको संघर्ष राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको मुक्तिसंग जोडिएको भनाई राख्नु भयो । प्रवक्ता प्रकाण्डले जनताले खनेको खुलालु –लालु –लैफु सडकको निर्माण कार्यलाई नेकपाले निरन्तरता दिइरहने पनि उद्घोष गर्नु भयो ।
कार्यक्रममा नेकपाका केन्दीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज विवेक सी, केन्द्रीय सदस्य तथा सडक निर्माण समिति संयोजक अविचल सी, केन्द्रीय सदस्य अर्जुन सी, पार्टी केन्दीय सदस्य तथा युवा संगठन नेपालका केन्दीय अध्यक्ष दिनेश सी, पाटी केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सी, केन्दीय प्रतिनिधि सदस्य समग्र सी,भूकम्प सी, रमेश सी, शाहासी सी, महान सहिद कोपिला र योद्धाका बुवा पहले सी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सचिव बलमान सीको अध्यक्षतामा सम्पन्न जनसभाको संचालन पाटी केन्दीय सदस्य तथा पचालझरना गाउँ कमिटी इन्चार्ज रणदिप सीले गर्नु भएको थियो । जनसभामा सी गाँउवासी माल्कोटका जनताको उल्लेखिय सहभागिता रहेको थियो भने उनीहरु निकै खुसी भएर फर्किएका थिए ।