१२ भदौ, बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको आरोप लगाउनु भएको छ ।
सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपमहासचिव शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको आरोप लगाउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार पारे । पार्टी भित्रै लोकतन्त्रको अभ्यास हुन सकेन । कसरी जनतासम्म लोकतन्त्रको अभ्यास हुन्छ ? पार्टी आफ्नो लागि भयो तर जनताको लागि भएन । त्यसो भएर जनताको बीचमा जाने पार्टी चाहिन्छ ।’
उहाँले अहिले कम्युनिष्ट पार्टीहरू जनताको लागि नभइ आफ्नो स्वार्थका लागि बनेको भन्दै कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक रहेको बताउनु भयो ।
उहाँले अहिलेका कम्युनिष्ट पार्टीहरूले जनताको मुद्दा नउठाएकाले अब वाम पार्टीहरूबीच पुनर्गठन हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
‘दलहरू जनताका मुद्दामा स्पष्ट भएनन्, नीतिहरू प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए,’ उहाँले भन्नु भयो, ‘दलहरूमा लोकतन्त्र पनि छैन, गरिबी बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’
उहाँले जनताको बीचमा नयाँ एजेण्डा तयार पारेर स्पष्ट मार्चचित्र सहित कम्युनिष्टहरुको पूनर्गठन जरुरी भएको स्पष्ट पार्नु भयो ।
‘लोकतन्त्र जनताको भएन, दलाल पुंजीवादकी र भ्रष्टहरूको भयो’, शर्माले भन्नु भयो ‘४७ लाखदेखि ५० लाख युवा देशमा रोजगारी नपाएर खाडी राष्ट्रमा छन्, खेतहरू बांझो छन्, वनजंगल, प्राकृतिक स्रोत साधनको सही सदुपयोग भएको छैन, यी साधनमाथि दलाल पुंजीवादीको कब्जा छ ।’
मुलुकका आर्थिक नीति पञ्चायतकालीन शैली नक्कल गरेर दलाल पुंजीवादले कब्जा गरेको शर्माको आरोप छ । नेता शर्माले माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागेपनि विघटनपछि निराशाको श्रृंखला शुरु भएको टिप्पणी गर्नु भयो ।
कम्युनिष्ट नेताहरूले लोकतन्त्र र समाजवादको भाषण गरेपनि व्यवहार ठीक उल्टो भएको बताउनु भयो ।
‘किसानले मल, बिउ, सिंचाई, उचित मूल्य र बजार पाएका छैनन्, शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्वमा छैन,’ शर्माले भने, ‘दलाल पुंजीवादले सबैतिर कब्जा गरेको छ, मुलुक भ्रष्टाचारमुक्त छैन, संविधान पनि पूर्ण कार्यान्वयन भएन ।’
जनताको नियन्त्रणमा रहने पार्टी र सरकार बनाउन आवश्यक रहेको भन्दै शर्माले यो बहसलाई निरन्तरता दिने उल्लेख गर्नु भयो ।
‘समाजवादको नाममा जनतालाई भ्रम दिन हुन्नँ, नयाँ समाजवादी केन्द्र आवश्यक छ, छलफल वहसलाई निरन्तरता दिन आवश्यक छ’, उहाँले भन्नु भयो ।