१२ भाद्र, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा असल कम्युनिष्ट पार्टी बनाउने चाहाना रहेको बताउनु भएको बताउनु भएको छ ।
सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले नेपालमा असल कम्युनिष्ट पार्टी बनाउने चाहाना रहेको बताउनु भएको हो ।
महासचिव विप्लवले भन्नु भयो,‘ हाम्रो सपना असल कम्युनिष्ट पार्टी बनाउने छ, विगतमा कम्युनिष्ट नेता र पार्टीहरुले गरेका कमजोरीहरु सच्चाएर अगाडि बढनु पर्छ, नेपालको राजनीति र कम्युनिस्ट आन्दोलन अहिले दिग्भ्रमित छ । रनभुल्लजस्तो भएको छ । दिग्भ्रमबाट दिग्दर्शन चाहिएको छ । त्यो नेपाली विशेषताको समाजवाद हो । नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्छ ।’
महासचिव विप्लवले अहिलेको संकटको निकास पुरानोतिर फर्किएर नभई समाजवादतिर फर्किनुको विकल्प नभएको जिकिर गर्नु भयो ।
उहाँले नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने शक्तिको आवश्यकता भएको भन्दै आफूहरूले थालेको बहस व्यक्ति विशेषको नभएको दाबी गर्नु भयो ।
उहाँले अहिले कुनै पनि पार्टी विवादमुक्त नभएको भन्दै ठुलो, सानो सबै पार्टीमा लडाइँ चलिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘कम्तीमा पनि दुई दुई जना मान्छे भएर मुक्कामुक्की नगरेको पार्टी नै छैन’ यसो हेर्दा यो समस्या पार्टीमामात्रै जस्तो लाग्छ, तर त्यसो होइन । समाजमै बहस रहेको र त्यसको प्रतिविम्ब पार्टीमा रहेको छ ।’
महासचिव विप्लवले कानुनहरू पुराना रहेको, नेपालको अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा परेको, भ्रष्टाचार बढेको भन्दै यो समग्र सङ्कट आउनुमा गणतन्त्रको ढाँचाको आर्थिक व्यवस्था नभएर भएको बताउनु भयो ।
उहाँले पूर्वसहकर्मी रामबहादुर थापा बादल रक्षामन्त्री भएका वेला गरिएको एउटा निर्णय वा उपप्रधानमन्त्री भएका वेला नारायणकाजी श्रेष्ठले न्यायलयसम्बन्धि दिएको अभिव्यक्तिबाटै धेरै कुरा बुझ्न सकिने बताउनु भयो ।
गणतन्त्रलाई सफलता मानिएपनि त्यसपछि जनताले गणतन्त्रको विशेषता उपभोग गर्न नसक्दा असन्तुष्टि बढेको उहाँको भनाइ छ ।
‘जनताले कहाँबाट समानता र स्वतन्त्रता खोज्ने ? नेपालमा कुन वर्गको देश हो यो भन्ने फैसला नै भएको छैन’, उहाँले भन्नु भयो ‘नेताहरूले जनतालाई भ्रमित पारे ।’
नेपाली जनताका अधिकार सुनिश्चित नभएको, राज्य रूपान्तरण भइनसकेको,राज्यबाट निर्धारित संस्थाहरू रूपान्तरित नभएको भन्दै उहाँले घर मुलीले नै अरूलाई सरापेर र प्रश्न गरेर कहीँ नपुगिने बताउनु भयो ।
उहाँले जोसँग पैसा छ उसैको हालीमुहाली भएको भन्दै नयाँ भन्नेहरूले पनि चुनावमा करोडौँ खर्च गर्छु भन्न थालेको बताउनु भयो । महासचिव विप्लवले यही अवस्था रहेमा नेपालको राजनीति भिरबाट हाम्फाल्ने अवस्थामा पुग्ने विचार राख्नु भयो । उहाँले कम्युनिष्ट आन्दोलनका पुनर्गठन गरी वास्तविक समाजवादको अभ्यास गर्न चाहेको बताउनु भयो ।