१२ भाद्र, बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जनयुद्ध र जनताको वहुदलीय जनवादको स्कुलिङ्ग अहिले दलाल पुँजीवादको भित्तामा पुगेको बताउनु भएको छ ।
सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक सङ्कट र निकासबारे’ अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले जनयुद्ध र जनताको वहुदलीय जनवादको स्कुलिङ्ग अहिले दलाल पुँजीवादको भित्तामा पुगेको बताउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘ठुला दुईवटा कम्युनिष्ट पार्टीका आ–आफ्नै स्कुलिङ्ग छन, एउटा जनयुद्धको र अर्को जनताको वहुदलीय जनवादको । यी दुवै स्कुलिङ्ग दलाल पुँजीवादको भित्तामा ठोकिए । यो एमाले र माओवादीको स्कुलिङ्गमा खास्सै फरक देखिएन । यी स्कुलिङ्ग दलाल पुँजीवादको कव्जामा छन । अहिले घाईते छन, अब अगाडि जाने बाटो र नयाँ स्कुलिङ्ग चाहिएको छ ।’
उहाँले दलाल पुँजीवाद विरुद्ध लड्ने र धुस नखाने, नेता र पार्टी चाहिएको बताउनु भयो ।
‘घुस नखाने मान्छेको पार्टी बनाउनु पर्छ, त्यस्तो कम्युनिष्ट पार्टी चाहिन्छ, नेपाललाई त्यो भएमा पाँच सात वर्षमै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सकिन्छ । ४० हजारका दरले हरेक घरमा नगद दिन सकिन्छ ’ उहाँले भन्नु भयो ।
उहाँले समाजमा रहेको उकुसमुकुस तीव्र रूपमा बढिरहेको पनि बताउदै भन्नु भयो ‘यो यति बढेको छ कि यसले विभिन्न ठाउँमा विभिन्न हिसाबले प्रतिक्रियाहरू उत्पन्न गरेको छ ।’
नेता भुसालले कम्युनिस्ट आन्दोलन विघटनबाट देशभर र बाहिरका शुभचिन्तकहरूलाई पनि चिन्तित तुल्याएको बताउनु भयो । उहाँले मुलुकबाट पञ्चायत, राजतन्त्र गए पनि पार्टीहरूको ढाँचा नबदलिँदा दलाल पुँजीवाद पनि कायमै रहेको ठोकुवा गर्नु भयो ।
अहिलेको आवश्यकता वामपन्थी कम्युनिस्टहरू ध्रुवीकरण जरुरी रहेको भन्दै उहाँले अहिले आफूहरूले नगरे अरू कसैले भए पनि निरन्तर प्रयास गरेर ध्रुवीकृत र कम्युनिस्ट एकीकृत भइछाड्ने दाबी गर्नु भयो ।
एमाले, माओवादी वा एकीकृत समाजवादीका नक्कली सीमा भत्काउनुपर्ने र अगाडिको भविष्य छेक्न नहुने भुसालको भनाइ छ । त्यसका लागि त्यो सीमा भत्काउन अहिलेबाटै छलफल गर्नुपर्नेमा भुसालले जोड दिनु भयो ।