१२ असोज,वाजुरा । जिल्लाको त्रिबेणी नगरपालीका वडा नम्बर ९ पैमामा रहेको नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएका ५२ वर्षिय टेकेन्द्र सुनारलाई वडा अध्यक्षको समुहले जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको छ ।
त्रिबेणी नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडीको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातीय विभेद गर्दै सुनारलाई कुटपिट गरेको हो । सो क्रममा सुनारसंग भएको नगद रु ६० हजार समेत लुटपाट गरिएको पीडितको गुनासो छ ।
नाट्यश्वरी मन्दिरमा मंगलबार पूजा सामाग्री लिएर गएको समयमा जातीय विभेदजन्य शब्द प्रयोग गरी कुटपीट गर्नुका साथै नगद लुटेर लगेको पीडित सुनारले गुनासो गर्नु भयो ।
वडा नम्बर ७ का वडा अध्यक्ष ऐडी र मन्दिरका पूजारी रङग उपाध्याय विरुद्ध पीडित सुनारले ईलाका प्रहरी कार्यालय पैमामा जातीय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिनु भएको छ ।
अहिले पीडित सुनार नगरपालिकाकी कार्यपालिका सदस्य विनिता मिजारको घरमा आश्रय लिई रहेको खवर प्राप्त भएको छ ।
ईलाका प्रहरी कार्यालय पैमाका ईन्चार्ज असई मीठ्ठु बोहराले मन्दिरका पूजारी रंग उपाध्याय लगायतको तीन जनाको नाममा निबेदन परेको र उनीहरुको खोजी भइरहेको जानकारी दिनु भयो ।
निबेदन आई सके पछि विहानै देखि खोजतलासमा लागेको र फोन पनि स्विचअफ भएकाले उनिहरुलाई भेटाउन नसकिएको असई बोहराले जानकरी दिनु भयो ।
स्थानीय सुरेन्द्र मिजारले जातीय विभेद गरेर लुटपाट समेत गरिएको जानकारी गराउदै ईलाका प्रहरी कार्यालयले उनिहरुको खोजीकार्य गरी रहेको पुष्टि गर्नु भयो ।
उहाँका अनुसार कुटपीटबाट सुनारको आँखा कान, नाक र पीठ्युमा गम्भीर चोट लागेको छ । जिल्लाको वुढीगंगा नगरपालीका वडा नम्बर ५ नौविस नुवाघर घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनार नवरात्री पूजाकै लागि भन्दै गृह जिल्ला जानु भएको थियो ।
कञ्चनपुरमा अटो रिक्सा चलाउदै आएका सुनारले रुदै आफुले लगेको २० हजारको पूजाको सामग्री समेत वडाअध्यक्ष सहितको समुहले नष्ट गरि दिएको गुनासो गर्दै आफुसंग भएको नगद ६० हजार समेत लुटेर लगेको बताउनु भयो ।
जातीय भेदभावकै कारण एउटा मानिस माथि यस्तो खालको अन्याय गर्नु मानवता विरुद्धको अपराध भएको स्थानीय अगुवाहरुले वताएका छन । उनीहरुले दोषि माथि कडा कार्वाही गरिनुपर्ने माग गरेका छन ।