जिवन विश्वकर्मा द्वारा जन्मदिनको अवसरमा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण

माघ १५, कालिकोट । आफ्नो जन्मदिनको अवसरमा नेकपाका युवा नेता तथा सामाजिक अभियान्ता जीवन बिश्वकर्माले आमाबाबु गुमाएका टुहुरा तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।

जिल्लाकाे नरहरिनाथ गाउँपालिका ४ का सामाजिक अभियान्ता बिश्वकर्माले आफ्नो २६ औं जन्मोत्सवको अवसरमा नरहरिनाथ गाउँपालिकाकाे वडा नम्बर ४ स्थित विश्वकुना माध्यमिक विद्यालय माझगाेठीमा अध्ययन गर्ने २६ जना टुहुरा तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम ज्यामिति लगायतक शैक्षिक सामाग्री वितरण गर्नु भएको हाे ।

पश्चिमा संस्कृतिको अनुसरण गर्दै पछिल्लो समय आफ्नो जन्मदिन लगायतका विभिन्न उत्सवहरुमा महँगो तथा फजुल खर्च गर्ने चलन बढिरहेको बेला बिश्वकर्माले आफ्नो जन्मदिनको अवसरमा पढ्ने चाहना हुँदाहुँदै अभिभावक नभएकाले पढ्ने अवसर नपाएका तथा शैक्षिक सामग्रीको जोहो गर्न नसक्ने बालबालिकालाई सहयोग गरेकाे बताउनु भयो।

आफूले पनि सानै उमेरमा अभिभावक गुमाउनु परेको र पढाईकाे लागि धेरै संघर्ष गरेको स्मरण गर्दै पढ्ने चाहाना हुँदाहुँदै पनि अभिभावक नभएकै कारण कोही व्यक्ति शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै आफूले सानो सहयोग गरेको उहाँको भनाइ थियो ।

बिश्वकर्माले आफू सानैमा अभिभावक विहीन भएको र टुहुरा हुनुकाे पिडा आफुलाई राम्रोसँग थाहा भएको भन्दै जन्मदिनकाे अवसरमा टुहुरा बालबालिकालाई सहयोग गर्न पाउदा खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रममा नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दराम सहकारी, वडा सदस्य रमाने बुढा, दलित महिला वडा सदस्य राजु परियार, विधालयका प्रधानाध्यापक मान बहादुर बुढा, किर्डाक नेपाल कालिकोटका कार्यक्रम अधिकृत पदम हमाल, स्थानीय बासिन्दा र विधालयका शिक्षकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस