१५ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनको माग गर्दै विद्यार्थी धर्नामा बसेका छन् ।
शुक्रबार विहान ८ बजेदेखि ९ बजेसम्मल विश्वविद्यालय मूलगेट अगाडि विद्यार्थी धर्नामा बसेका थिए । विश्वविद्यालयले यसअघि चैत २५ गते निर्वाचन गर्ने भनिएपनि हालसम्म निर्वाचनका लागि वातावरण सिर्जना नगरेको भन्दै नेपाल विद्यार्थी संघ –नेविसंघ)को अगुवाईमा विद्यार्थीले विश्वविद्यालयको मुल गेटमै धर्ना बसेका हुन् ।
नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय सहमहामन्त्री ईश्वर विष्ट, निवर्तमान केन्द्रिय सदस्य हरि शर्मा, अनिल बहादुर शाही, स्ववियू सभापति झक्क बहादुर शाही, सहितका विद्यार्थी नेता धर्नामा बसेका थिए ।
निवर्तमान सहमहामन्त्री ईश्वर विष्टले स्ववियू विद्यार्थीको लामो त्याग र विरासतबाट जन्मेको साझा संस्था भएको भन्दै समयमै यसको निर्वाचन गरिनुपर्ने माग राखे । उनले विद्यार्थीको सहमति र सहकार्य नगरि निर्वाचनको मिति तोकेपनि हाल निर्वाचन कार्यतालिका घोषणा गर्न ढिलाई गरेको बताए ।
सहमहामन्त्री विष्टले तोकिएको मितिमा विश्वविद्यालयले निर्वाचन गराउन नसके निवर्तमान स्ववियू पदाधिकारीको म्याद थप गरिनुपर्ने बताए । उनले आइतबार भित्र निर्वाचन कार्यतालिका घोषणा नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारि दिए ।
त्यस्तै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य अनिल बहादुर शाहीले समयमै निर्वाचनको वातावरण सिर्जना नगरे विद्यार्थी आन्दोलनको सुरुवात हुने भन्दै आन्दोलनबाट भएको क्षतिको जिम्मेवार विश्वविद्यालयले लिनुपर्ने बताए ।
त्यसैगरि धर्ना कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य हरि शर्माले निर्वाचन आफू अनुकूलमा पर्ने नदेखेपछि पदाधिकारीहरुले मिति तोक्न ढिलाइ गरेको आरोप लगाए ।
स्ववियू सभापति झक्कबहादुर शाहीले स्ववियूको म्याद सकिएको ८ महिना बितिसक्दापनि विश्वविद्यालयले निर्वाचन नगराएको भन्दै तत्काल तोकिएको मितिमा निर्वाचन गर्न आग्रह गरे ।
यसअघि मंगलबार विश्वविद्यालयमा निर्वाचन कार्यतालिका सार्वजनिक गर्न २ दिने समयसीमा राख्दै विश्वविद्यालयका निमित्त रजिस्ट्रार लीलाधर तिवारीलाई ज्ञापनपत्र बुझाएका थिए ।