१६ वैसाख, कालिकोट । नेकपा (माओवादी केन्द्र) का नेताहरुको रास्कोटका विभिन्न विद्यालयबाट लिएको कमिशन काण्डको समाचार ज्वाला खवरले सार्वजनिक गरेपछि रास्कोटका नगरप्रमुख धर्मराज शाही (पोषण)ले धम्की दिनु भएको छ ।
ज्वाला खवरका संचालक तथा सम्पादक पत्रकार कर्ण विश्वकर्मालाई फेसबुक म्यासेन्जरमा तथानाम गाली गर्दै समाचार किन प्रकाशित गरेको हो ? भनि धम्की दिनु भएको हो ।
पूर्व मुख्यमन्त्री देखी स्थानीय माओवादी नेताको कमिशन काण्डः ‘रास्कोटका विद्यालयबाट मात्रै लाखौं असुली’ भन्ने शिर्षकको समाचार भौचर तथा केही तथ्य सहित मंंगलबार प्रकाशित भएको थियो ।
नगरप्रमुख शाहीले समाचार प्रकाशित भएको केही समयपछि पत्रकार विश्वकर्माको फेसबुक म्यासेन्जमा कमिशन खान नपाएर समाचार प्रकाशित गरिएको तथ्यहिन आरोप लगाउनु भएको छ ।
पत्रकार विश्वकर्माले समाचारमा चित्त नबुझिए कानुनी उपचारमा जान सुझाव दिदा नगरप्रमुख शाहीले धम्की दिदै म्यासेन्जरमा लेख्नु भएको छ ‘कानुनी उपचारमा जानेकी, कता के गर्ने ? मेयरलाई सिकाउने होईन एउटा नाथे केटाहरुले’
नगरप्रमुख जस्तो व्यक्तिले एउटा गुण्डा शैलीमा तथानाम असभ्य शव्द लेख्दै विज्ञापनको विल भुक्तान नगरिएकाले आफूलाई मुछिएको बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ ‘तिम्रा पनि पत्रिकाका विल भएनन् भनेर त मेरो नाम जोडेका हौं थाहा छ, तर मेरो कुनै अडियो भिडियो र हस्ताक्षर भेटिए ठिक छ, हैन भने म पनि सजिलै हस हजुर भन्ने मान्छे होईन मगन्तेहरु ।’
‘जो चोर उसको ठुलो स्वर’ भने जस्तै एउटा पत्रकार र मिडियालाई मगन्तेको असभ्य शव्द बोल्ने नगरप्रमुखले धम्की दिएको विषयमा ज्वाला खवरले निन्दा गरेको छ । ज्वाला खवरले पनि कुनै तथ्य विना समाचार प्रकाशित नगरेको स्पष्ट पार्न चाहान्छ ।
माओवादी केन्द्र भित्रकै श्रोतले दिएको प्रमाणका आधारमा ज्वाला खवरमा समाचार प्रकाशित भएको थियो । ज्वाला खवरले आवश्यक परे अडियो सहितको समाचार प्रकाशित गर्नेछ ।
नगरप्रमुख शाहीले यसरी धम्की दिएपनि ज्वाला खवरले भने आम पाठकहरुको सहयोग, माया र ममतामा भ्रष्टाचार, कमिशन, विकृति विसंगति सम्वन्धिका सत्य तथ्य र यथार्थपरक समाचारहरु निरन्तर प्रकाशित गर्नेछ ।