आज गणतन्त्र दिवस ! देशभर विभिन्न कार्यक्रम गरी मनाईदै

१५ जेठ, काठमाडौ । आज गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
जनयुद्धको जग र १९ दिने जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक शासनको स्थापना भएको आज १७ बर्ष पुरा गरी १८ बर्ष पुगेको छ ।
२०६५ साल जेठ १५ गते आजैको दिन विधिवत रुपमा निरंकुश राजतन्त्रको संविधान सभाबाट अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको थियो ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो ।
जनयुद्धको जगमा हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाउन लागिएको हो ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले विसं २०५९ जेठ ८ गते विघटन गरेको संसद् पुनःस्थापना गर्नु भएको थियो ।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता सबै आफ्नै हातमा लिएपछि संसदवादी दलहरु आन्दोलन गर्न थालेका थिए ।
तर उनीहरुको आन्दोलनले मात्र परिणाम नआउने भएपछि सात दल र तत्कालीन जनयुद्ध लडिरहेको नेकपा (माओवादी)का बीच २०६२ मंसिरमा १२ बुँदे समझदारी भएको थियो । त्यसपछि जनआन्दोलनको आँधि हुरी आयो र राजतन्त्र ढल्यो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । नेकपा (माओवादी) सबै भन्दा ठुलो दल भयो । माओवादी ठुलो दल भएकै कारण विभिन्न षड्यन्त्र गरी संविधासभा विघठन गरियो । पहिलो संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । तर जनताको संविधान बनाउन सकेन । संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो । तर त्यो नेपाली जनताको पूर्ण हितमा बन्न सकेन । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । तर जनताले सोचे जस्तो व्यवस्था बन्न सकेको छैन । जनतामा असन्तृष्टि बढदै गएको छ । गणतन्त्रको नाममा दलाल व्यवस्था भएको भन्दै समाजवादमा देशलाई लैजानु पर्ने आवाज उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस