जेठ १५, काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । असल चालचलन भएको भनेर कैदीहरूलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो ।
सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संशोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको हो ।
केही गम्भीर किसिमका अपराधमा संलग्नबाहेक अन्य कैदीले आधा कैद सजाय मिनाहा पाउनेछन् । असल चालचलन मूल्यांकन गर्ने वस्तुगत प्रणाली नभएकाले ५० प्रतिशत कैद भुक्तान भएका सबै कैदीलाई सरकारले छाड्ने गरेको छ ।
नयाँ अपराधसंहिताअनुसार विभिन्न १५ किसिमका मुद्दामा भने ५० प्रतिशत कैद मिनाहा लागू हुँदैन । जन्मकैद, जबर्जस्तीकरणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना तथा अमानवीय व्यवहार र मानवताविरुद्धको अपराधमा ५० प्रतिशत कैद छुट हुनेछैन । त्यस्तै, राज्यविरुद्धको अपराध, युद्ध अपराध, बहुविवाह, कैदबाट भागे–भगाइएको मुद्दाका अभियुक्तले पनि छुट पाउँदैनन् ।
मुलुकी अपराधसंहितामा ६ प्रकारका मुद्दामा जन्मकैद हुने व्यवस्था छ । यातना दिई वा निर्ममतापूर्वक हत्या, वायुयान अपहरण गरी वा विस्फोट गरी हत्या, अपहरण गरी वा शरीर बन्धक बनाई हत्या, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष मिसाएर हत्या, कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेको र जबर्जस्तीकरणी गरी ज्यान मारेको अवस्थामा जन्मकैद सजाय हुने व्यवस्था छ । यी मुद्दामा दोषी भएकाहरू २५ वर्ष नै जेल बस्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस