१४ साउन,काठमाडौ । सुदूरपश्चिम –काठमाडौ समाजवादी सम्पर्क मञ्च गठन भएको छ ।
सोमबार काठमाडौंमा भएको मञ्चको प्रथम भेलाले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित भएका अध्यक्ष विश्वकर्मा जनपत्रकार संगठन नेपालको अध्यक्ष समेत हुन ।
गृह जिल्ला अछाम रहेका विश्वकर्मा लामो समयदेखि माओवादी आन्दोलनबाट आएका हुन । उनी अहिले नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठनको अध्यक्ष छन ।
विभिन्न पेशा,जागीर र पठनपाठनको सिलसिलामा सुदूरपश्चिम स्थायी बसोबास भई हाल काठमाडौ कर्मथलो बनाएका सुदूरपश्चिमेलीहरुलाई समाजवादी व्यवस्थाका लागि संगठित गर्न मञ्च बनाईएको हो । यस्तै सुदूरपश्चिका साझा समस्यालाई एउटै मञ्चबाट समाधान खोज्ने उद्देश्यले बोकेर पनि मञ्च बनाईएको बताईएको छ ।
भेलाले सम्पर्क मञ्चलाई छिट्टै जिल्ला स्तरको संरचना बनाई जिल्ला संयोजकसम्म तोकेर कार्यक्रम अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ ।
मञ्चको भेलामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सी ( रणबीर)ले सम्बोधन गर्दै सुदूरपश्चिमका जनतालाई संगठित गरी समाजवादी व्यवस्थाबाट समस्या समाधान खोज्ने बताए । उनले नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार र राष्ट्रिय स्वाधीनता सम्बन्धि समस्याहरू समाधान गर्न समाजवाद अनिवार्य भएको जिकिर गरे । उनले गणतन्त्र आएर पनि यो जनताको नभएको र दलाल पुँजीपतिवर्गको भएको बताए ।
नेता रणवीरले थोरै मान्छेको हातमा अथाह सम्पत्ति केन्द्रीकरण गरिरहेको पुँजीवादी व्यवस्थाले विद्यमान समस्या समाधान गर्न नसक्ने भएको भन्दै समाजवाद संकट समाधानको विकल्प भएको भनाई राखे ।
सम्पर्क मञ्चको भेलामा शुभकामना व्यक्त गर्दै नेकपा केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज मिना सीले बाकाबीर,भीमदत्त पन्त जस्ता योद्धाको बिद्रोह र बलिदानको पहिचान बनाएको सुदूरपश्चिम प्रदेशअझै क्षेत्रीय उत्पीडनमा परेकोले यसबाट मुक्त हुन सुदूरपश्चिमबासीहरु साझा मुद्दामा एक हुने बेला आएको बताइन् ।
कार्यक्रममा कर्मचारी संगठनका पूर्वअध्यक्ष गोपाल सिंह धामीले नेपालका हरेक आन्दोलन र परिवर्तनमा सुदूरपश्चिमको विशेष योगदान रहेको स्मरण गर्दै अब नेपाली विशेषताको समाजवादद्वारा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा नेताहरू समर सी, सम्पर्क मञ्चका रत्न मगर, अखिल समाजवादीका उपाध्यक्ष ललित सी,नवयात्रा सहकारीका अध्यक्ष हर्क बहादुर बिश्वकर्मा,महिला नेतृ बिपना,ममता सुर्खेती लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै युवा कलाकारहरु मनोज धामी,सरोज जप्रेल,दिलिप दास र बिनय रावलले गजल , कविता , गित र देउडा मार्फत कार्यक्रममा मनोरञ्जनसहित सन्देश सम्प्रेषण गरेका थिए ।
शेरबहादुरको अध्यक्षतामा सम्पन्न भेलामा तारा सञ्ज्यालले मन्तव्यद्वारा स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन प्रकाश जप्रेलले गरेका थिए ।