कालीकोटमा पहिरोले एकै परिवारका ७ सहित ९ जनाको मृत्यु


साउन १४, कालीकोट । मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।

राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उहाकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको उहाले जानकारी दिनु भयो ।

त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको ओलियाले जानकारी दिनु भयो ।

‘गंगे बुढाको ११ जनाको परिवार मध्ये घर बगाउने समयमा चार जना भाग्न सफल भए,’ डिएसपी ओलियाले भन्नु भयो , ‘बाँकी छ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भयो।’

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उहाकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस