एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लियोः प्रकाण्ड सी

१२ भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लिएको बताउनु भएको छ ।
नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा सोमवार आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले क्रान्तिको मोर्चाले नयाँ मोड दिएको वताउनु भएको हो ।

उहाँले नेपाली जनता र राष्ट्रलाई लामो समय सम्म धोका हुने गरी एमसीसी आएको तर्क गर्दै कुनै पनि कोणबाट एमसीसीले नेपाली जनता र राष्ट्रलाई राम्रो नगर्ने वताउनु भयो ।

प्रवक्ता प्रकाण्डले विगतमा २००६ साल देखि विभिन्न चरणमा साम्राज्यवाद र दलाल संसदीय व्यवस्था विरुद्ध नेपाली जनताले आन्दोलन गर्दै आए पनि नेतृत्वको असक्षमताले धोका खानु परेको खुलासा गर्नु भयो ।

उहाँले अवको क्रान्ति र राष्ट्रिय स्वाधीनताको आन्दोलनले विगतमा भएका धोकावाट माथि उठेर देश र जनतालाई मुक्त गर्नुपर्ने र त्यसको लागि नेकपा प्रतिवद्ध रहेको खुलासा गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले एमसीसी विरुद्ध सुरु देखि नै कडा संघर्ष गर्दै आएको स्मरण गराउदै फेरी पनि राष्ट्रघाती र जनघाती एमसीसी कार्यान्वयन गर्ने षडयन्त्रका विरुद्ध कडा संघर्ष गर्न तयार भएको वताउनु भयो ।

उहाँले आफ्नो पार्टीको एमसीसी कार्यान्वयन विरुद्धको आन्दोलनमा सवै कम्युनिष्ट,राष्ट्रवादी,क्रान्तिकारी, देशप्रेमी, वामपन्थी,वुद्धिजीवी तथा आम नेपाली जनतालाई साथ दिन अपिल पनि गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस