क्रान्ति पूरा गर्न क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी अनिवार्य : महासचिव विप्लव

असाेज १३,चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सही विचार क्रान्तिको प्रमुख सर्त भएको बताउनु भएको छ । क्रान्तिकारी आन्दोलनका लागि सही क्रान्तिकारी विचार निर्माण गरिसकेपछि त्यो विचार लागू गर्न क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने र त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु त्यसको अनिवार्य सर्त हुने स्पष्ट पार्दै महासचिव विप्लवले क्रान्तिकारी विचारसहितको कार्यदिशा लागू गर्ने काम क्रान्तिकारी पार्टीको रहेको बताएउनु भएकाे थियाे ।

सोमबारबाट चितवनको पर्सामा सुरु भएको पार्टीको केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै महासचिव विप्लवले यस्ताे बताउनु भएकाे हाे । उहाँले ‘कैयौं मान्छेका अनुमानहरूलाई असफल गर्दै हामीले सही क्रान्तिकारी कार्यदिशा बनायौं र त्यसलाई लागू गयौं । संसद्वादका विरुद्ध हामीले धावा बोल्यौं र विद्रोह गर्यौं । यो धेरैलाई विश्वास थिएन । दलाल पुँजीवादविरुद्धको विद्रोहको प्रमाण आजको कार्यक्रम हो । यो संसद्वादका विरुद्धको विद्रोह र सफलता हो । ठूला–ठूला धक्काहरूको बीचबाट, थुप्रै खालका सफलता–असफलताहरूका बीचबाट मात्र यो सफल हुनेछ । हामीले जनयुद्धको रगतमा एकीकृत जनक्रान्तिका १२ जनाको रगत मिसाएर आएका छौँ । एकीकृत जनक्रान्तिको प्रक्रियामा १२ जना कमरेडको रगत बगेको छ भने २५ सयभन्दा बढी कमरेडको जेल–नेल र झूट्टा मुद्दा बेहोरेका छौँ ।’

आफ्नो पार्टीले एकीकृत जनक्रान्तिका ७ आधार पेस गर्दै जनक्रान्तिको संश्लेषण गरेर जनतामा गएको र अन्तिम सफलताको शिखरतिर अघि वढ्ने र विजय प्राप्त गर्ने क्रान्तिकारी पार्टी निर्माण भइरहेको बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘कमरेड माओले भनेझैँ क्रान्ति भनेको गतिमा हुन्छ । गतिशील भएन भने क्रान्ति सम्भव छैन । पुराना चिन्तनहरूलाई नभत्काएसम्म हामी सफलता प्राप्त गर्न सक्दैनौँ ।’ अहिले भइरहेको पार्टीको प्रशिक्षण संसद्वाद र फासिवादविरुद्धको विजयको सङ्केत भएको भन्दै निःसर्त क्रान्तिमा हामफाल्ने पङ्क्ति जरुरी भएको महासचिव विप्लवले बताउनु भयाे । दलाल सत्ताका विरुद्ध विद्रोह नगरी क्रान्ति सम्भव नभएको भन्दै महासचिव विप्लवले वैचारिक रूपमा स्पष्ट, राजनीतिक रूपमा सशक्त र साङ्गठनिक रूपले विशाल जनाधार भएको पार्टी आवश्यक भएकाले उक्त पार्टी निर्माणको दिशामा आफ्नो पार्टी अघि बढिरहेको उहाँकाे भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा पार्टीका प्रवक्ता प्रकाण्डले पुराना चिन्तन र आदतहरूलाई नभत्काएसम्म नयाँ क्रान्तिकारी पार्टी निर्माण हुन नसक्ने भन्दै प्रकाण्डले नयाँ क्रान्तिकारी पार्टी निर्माणकार्यमा अहिले भइरहेको प्रशिक्षण एक ऐतिहासिक प्रक्रिया भएको बताउनु भयाे । दलाल संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने क्रममा २ वर्ष लामो प्रतिबन्ध बेहोरेर आएपछिको यो प्रशिक्षणमा नेता–कार्यकर्ताबीच जीवन्त छलफल हुने र त्यो छलफलको निष्कर्ष पार्टी र क्रान्तिका लागि ऊर्जा बन्ने उहाँले बताउनु भयाे ।

उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले वर्तमान संसदीय व्यवस्था दिनप्रतिदिन सङ्कटमा पर्दै गएको बताउनु भयाे । नेता कञ्चनले वर्तमान संसदीय व्यवस्था अब जतिसुकै कोसिस गरे पनि उठ्न नसक्ने अवस्थामा पुगेको बताउनु भयाे । यो व्यवस्थामा समाजमा हत्या, हिंसा बलात्कार र मुख्य गरी भ्रष्टाचार बढेर गएको प्रस्ट पार्दै नेता कञ्चनले वैचारिक हतियार ठीक ढङ्गले समातेर जनतालाई गोलबन्द गर्दै अघि बढ्न र देशलाई निकास दिन आवश्यक रहेको बताउनु भयाे ।

नेकपाको तनहुँमा सम्पन्न ११ औँ पूर्ण बैठकपछि पहिलोपटक सुरु भएको उक्त प्रशिक्षणमा देशैभरिबाट तीन सय हाराहारी जिल्ला इन्चार्ज, सेक्रेटरी र विशेष समितिका नेता–कार्यकर्ता सहभागी भएका छन् । प्रशिक्षणमा नेकपाका महासचिव विप्लव, प्रकाण्ड, कञ्चन र सुदर्शनले सहभागीहरूलाई राजनीतिक–वैचारिक प्रशिक्षण दिनुहुनेछ ।

रिपोर्टका क्रममा बुधबार सम्म ११५ जनाकाे भौगोलिक, विभागीय क्षेत्रको रिपोर्टिङ गरे संगै रिपोर्टिङ कार्य सकिएकाे बताएको छ । रिपोर्टिङकाे क्रममा कामहरूको सूची प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने कामहरूका बारेमा पार्टीलाई सुझाव दिएका छन् । रिपोर्टमा उल्लेख गरिए अनुसार नेकपाले देशव्यापी रूपमा कोरोना महामारी फैलिसकेपछि त्यसको नियन्त्रण र रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतना फैलाउने काम भएको छ । यस्तै पार्टीले अघि सारेको जनमतसङ्ग्रहको कार्यदिशाका बारेमा जनतालाई बुझाउने र सङ्गठन निर्माण गरेको प्रतिवेदन प्रशिक्षणमा प्रस्तुत गरिएको छ । यस्तै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार ठाउँठाउँमा उत्पादनका कामहरू पनि गरिएका छन् भने केही जिल्लामा कार्यालय स्थापना गरिएको छ । यस्तै रिपोर्टिङ गर्नेहरूले एमसीसी र जयसिंह धामी हत्याकाण्डविरुद्ध निरन्तर सङ्घर्ष जारी राखेको पनि बताएका छन् ।

नेकपाको केन्द्रीय राजनीतिक तथा वैचारिक प्रशिक्षण बिहबार सम्म जारी रहने र बिहबार महासचिव विप्लवले वैज्ञानिक समाजवादबारे राजनीतिक वैचारिक प्रशिक्षण दिने नेकपा स्रोतले बताएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस