१२ कार्तिक, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसंग पार्टी एकताको वहस चलिरहेको बेला नेकपा माओवादी केन्द्रभित्र तिव्र विवाद देखिएको छ । समाजवादीसंग एकता गर्ने वा नगर्ने भन्ने विषयमा तिव्र विवाद देखिएको हो ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठदेखि केही नेताहरु एकताको विपक्षमा देखिएका छन ।
जसले गर्दा माओवादी केन्द्रभित्र एकीकृत समाजवादीसंग एकता गर्ने वा नगर्ने भन्ने विषयमा तिव्र विवाद देखिएको हो ।
बरु माओवादी केन्द्रमा विप्लव नेतृत्वको नेकपासंग एकता गर्न ढिलाई गर्न नहुने तर्कपनि उठेको छ । एकीकृत समाजवादीसंग माओवाद नै छोडेर एकता गर्ने विषय चर्चामा आएपनि माओवादी केन्द्रमा त्यसरी एकता गर्न नसकिने अधिकाँस नेताहरुको मत छ ।
माओवादी केन्द्रका नेता श्रेष्ठ सहित जनार्दन शर्मा, सुदन किराँती, शक्ति वस्नेत, वर्षमान पुनः लगायतका नेताहरु माओवाद नै छोडेर एकता गर्ने कुरामा सन्तुष्ट छैनन् ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड माओवाद नै छोडेर एकीकृत समाजवादीसँग एकता गर्न हतारिएपछि नेता श्रेष्ठ हतारमा एकता गर्न नहुने पक्षमा उभिनु भएको हो । एकीकृत समाजवादी भित्र पनि माओवादी केन्द्रसंग हतारमा पार्टी एकता गर्न नहुने वहस जारी छ ।
समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठन सहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुने नेता श्रेष्ठको बुझाई छ । माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्ने उहाँको भनाइ छ ।

एकीकृत समाजवादीभित्र महासचिव घनश्याम भुसाल, सम्मानित नेता झलनाथ खनाल, जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्री लगायत नेताहरू एकताको विपक्षमै उभिनु भएको छ ।
। दुवै पार्टीभित्र हतारमा एकता गर्न नहुने पक्षमा आवाज बढ्दै गएपछि अप्ठ्यारोमा पर्नु भएका प्रचण्डले देशका सामु अहिले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी आएकाले सङ्कट समाधानका लागि सम्पूर्ण प्रगतिशील, वामपन्थी, कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा आउनु पर्ने बताउनु भएको छ ।
उता विप्लव नेतृत्वको नेकपाले कम्युनिष्ट केन्द्र बनाएर सवै वामपन्थी शक्तिहरु एकताबद्ध हुनुपर्ने विचार अघि सारेको छ । नेकपाले विप्लवकै नेतृत्वमा कम्युनिष्ट केन्द्र बनाउने विचार अघि सारेपछि प्रचण्ड भने झस्किनु भएको छ । उहाँले विप्लव भन्दा माधव नेपालसंगको एकताको हात अघि बढाउनु भएको अनुमान गरिएको छ । विप्लव नेतृत्वमा आए प्रचण्डलाई आफु कमजोर हुने र आफ्नो अस्तित्व संकटमा पर्ने चिन्ता छ । जसले गर्दा माओवादी केन्द्र र विप्लवको नेकपा विच एकताको ठोस निर्णय भएको छैन ।
नेकपा आफ्नै दल दर्ता गरेर निर्वाचनमा जाने तयारीमा छ । नेकपाले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन समेत दिएको छ ।
पार्टी र नेतृत्वबारे विभिन्न टीकाटिप्पणी आउन थालेपछि विप्लवले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिस्कारको नीति बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुसार दल दर्ता गरिएको दाबी गर्नु भएको छ ।
उहाँले बुधवार फेसवुकमा लेख्नु भएको छ ‘चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात् गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ । नयाँ स्कुल अनुरूप सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै देशको स्वाधीनता, नेपाली विशेषताको समाजवाद,जनताको विशेषतः युवाहरूको शिक्षा,रोजगारीका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
विप्लवको निर्वाचन आयोगमा दल दर्ताको निवेदनले माओवादी केन्द्रका कतिपय नेताहरुको टाउको दुखाई भएको छ । राजन दाहाल र माधव साप्कोटाले पार्टी विभाजनको प्रसंग निकाल्दै विभिन्न आरोप लगाउनु भएको छ । यो कुराले एकताको चर्चा माओवादी केन्द्रभित्रको संकट मोचन मात्र हुने प्रष्ट देखिएको छ ।
विचार,कार्यदिशा र नेतृत्वको विषयमा एकमत नभई हुने एकता सार्थक पनि नहुने निश्चित छ । त्यसो भएर पनि अहिले माओवादीभित्र एकताको विषयमा तिव्र विवाद बढेको छ । माधव नेपाल भन्दा विप्लवसंगै एकता गर्नुपर्ने मतपनि माओवादी केन्द्रमा बलियो छ । यी सबै कुराले प्रचण्ड थप संकटमा पर्नु भएको छ ।