बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना, आमा-छोरासहित ३ जनाको मृत्यु

१७ माघ, काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ना१ज ६४२१ नम्बरको सुमाे ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ काे सीमानामा पर्ने भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारकाे तीन जनाकाे मृत्यु भएकाे माने भन्ज्याङ गाउँपालिका का उपाध्यक्ष आश्रचन राईले बताउनुभयो । उहाँका अनुसार खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।

‘खाेटाङबाट बिरामी लिएर काठमाडाैं हिँडेकाे सुमाे रातकाे साढे १२ बजेतिर दुर्घटना भएकाे रहेछ । बिहान मात्रै खबर थाहा पायाैं ।तर, उनीहरु तीनै जनाको घटनास्थलमा नै मृत्यु भइसकेकाे थियाे ।’ उहाँले भन्नुभयो ।

बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए।

उहाँका अनुसार आमा माया आगाेले पाेलेर गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि सुमाे चालक २२ वर्षीय अनिल पण्डित फरार छन् ।

प्रतिक्रिया दिनुहोस