प्रचण्ड आफै एकता, ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट भागेका हुनः विप्लव

१६ माघ,काठमाडौँ । नेकपा(माओवादी)का महासचिव विप्लवले वास्तविक एकता, ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट प्रचण्ड आफै भागेको बताउनु भएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले वास्तविक एकता, ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट प्रचण्ड आफै भागेको बताउनु भएको हो ।
उहाँले आफूहरू एकतामा नआएको भनेर प्रचण्डले झुट बोलेको पनि आरोप लगाउनु भयो ।
‘विप्लव एकतामा आएन भन्ने हल्ला झुटा हो । प्रचण्डले आह्वान गरेको एकता र ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट भागेको हो । त्यो पार्टी जस्तो छैन । मोर्चा जत्तिको पनि छैन’ महासचिव विप्लवले भन्नु भयोे, ‘२५ सय÷तीन हजार केन्द्रीय समिति कम्युनिस्टको हुर्मत लिने कुरा हो । बेइज्जत हो र बदनाम गर्ने कुरा हो । मान्छे धेरै भएर कम्युनिस्ट पार्टी ठिक हुने हो ? लोभ लालच देखाएर घुइँचो लगाएर जनता मान्ने पक्षमा छन् ?’
आफैले विकास गरेका विचार र स्थापित गरेको इतिहासमा टिक्न नसक्दा कुरूप चित्र नेकपामा देखिएको उहाँले बताउनु भयो । विप्लवले आजको दिनमा प्रचण्ड माओवादी आन्दोलनलाई विसर्जन गर्ने बाटोमा लागेको पनि बताउनु भयो ।
उहाँले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भागेको ठोकुवा गर्नु भयो ।
माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उहाँको भनाइ थियो ।
माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफुहरु सहभागी नहुने स्पष्ट पार्दै उहाँले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य विचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस