१७ वैसाख, चितवन । लामो समयको जेल जीवन पछि आज नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाई तथा नेकपाका केन्द्रीय सदस्य चन्द वहादुर चन्द (वीरजंग) रिहा हुनु भएको छ ।
जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनु भयो ।
उहालाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो ।
‘हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम) को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो’, काफ्लेले भन्नु भयो ।
पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमान्नु भएकोमा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताउनु भयो ।
स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उहालाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो ।
अघिल्लो पटक कोभिड भई कमजोर बन्नु भएका उहाँलाई घाँटी र पेटमा समस्या देखिएको थियो ।
यसैविच नेकपाका अर्का केन्द्रीय सदस्य माईला माला पनि रिहा हुनु भएको छ ।