अहिलेको व्यवस्थाबाट समाजवाद आउन सक्दैनः विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिलेको व्यवस्थाबाट कुनै पनि हालतमा नेपालमा समाजवाद नआउने ठोकुवा गरेका छन ।

नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनलाई आईतवार काठमाडौंको कमलादीमा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो ठोकुवा गरेका हुन ।
उनले नेपालमा नेपाली विशेषताको समाजवाद तत्कालिन निकासको विकल्प भएको भन्दै सबै कम्युनिष्टहरुले समाजवादी क्रान्तिको कार्यक्रममा जानु पर्ने सुझाव दिए । महासचिव विप्लवले कांग्रेस र रास्वपाले भन्ने गरेको समाजवादको बारे पनि स्पष्ट हुनुपर्ने बताए ।
उनले भने ‘अहिलेको व्यवस्थाबाट समाजवाद आउदैन, यो दलाल पुँजीवाद हो । यसले नेपाललाई अगाडि लिदैन । नेपालमा समाजवादको विकल्प छैन । बरु कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो ? त्यो पनि स्पष्ट हुनुपर्छ ।’

महासचिव विप्लवले नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको भूमिका पनि महत्वपूर्ण भएको भन्दै महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउने विश्वास व्यक्त गरे । उनले आस गरेका कम्युनिष्ट नेताहरुका छोराहरु भ्रष्टाचार काण्डमा पक्राउ परेको सुन्दा आश्चार्य परेको बताए ।

उनले भने ‘जनतामा देखिएको उकुसमुकुसको असर सरकार, राजनीतिक दलहरूमा परिरहेको छ । आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएका कुरा सुन्न परिरहेको छ । राजनीति कार्यकर्ता श्रमजीवी यन्त्रमा नभई भ्रष्टाचार गर्ने निकायमा बदलिरहेका छन् ।’
महासचिव विप्लवले जनताले आशा गरेका नेताहरू देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेको पनि बताए । उनले भने ‘यसको अन्त्य गरी उत्पीडित, श्रमजीवी जनताहरूको पक्षमा सबै मिलेर काम गर्नुपर्छ ।’

महासचिव विप्लवले नेताहरूले परिवर्तन पछि पनि काम गर्न नसके व्यवस्था र नेतालाई जनताले फाल्ने परिस्थिति आउने चेतावनी दिए । उनले नेपालमा कम्युुनिष्टहरुको एकताले मात्र समाजवादसम्म पुगिने विश्वास व्यक्त गर्दै सबै कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस