दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज, नेपालपक्ष असन्तुष्ट

१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नु भएको छ । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ ।

बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी हुने घोषणा गर्नु भयो ।

बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीबाट निस्कासन गर्ने कारबाही पनि नहुने भएको छ ।

तर बुधबारको बैठकबाटै पूर्वमाओवादी केन्द्रबाट आएका नेताहरु मनोनित गरिएको छ ।
खारेज हुनुअघिको आयोजक कमिटीले रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टलाई स्थायी कमिटीमा मनोनित गरेको छ ।

एमालेको कमिटी ३ जेठ २०७५ को अवस्थामा फर्किएको छ, जुन अध्यक्ष ओलीले २३ जेठमा सार्वजनिक गरेको एकताको ६ बुँदे प्रस्तावको मर्म नै हो ।

तर यसमा माधव नेपाल समूह सहमत छैन । ‘दुईदुई पटक अदालतले दिएको फैसला भनेको २ जेठ २०७५ को पार्टी कमिटी, विधान र नेतृत्व हो’, नेपाल निकट नेता जगनाथ खतिवडाले भन्नु भयो ‘दशौं महाधिवेशन आयोजक कमिटीलाई त अदालतले पनि चिन्दैन ।’ खतिवडाले गरेको तर्क र अडानसँग अध्यक्ष ओलीपक्ष सहमत छैन् ।

माधव नेपाल समूहले राख्दै आएको अडान र अदालतको फैसला बमोजिम २ जेठ २०७५ को अवस्थामा एमाले फर्किएको निर्णय गरिएको छैन । बरु, माओवादीसँगको एकता र ५ पुसको नेकपा विभाजन हुँदाकै संरचनाले निरन्तरता पाएको देखिन्छ । किनभने बुधबारको निर्णय माधव नेपालका नेताहरुको अनुपस्थितिमा भएको छ ।

ओली पक्षले गरेको निर्णय र १८ गते बोलाइएको बैठकमा जाने नजाने छलफल गर्न नेपाल समूहले विहिवार बैठक बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस