१४ साउन, काठमाडौं । समाजवादी मोर्चा नेपालले मोर्चालाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालयमा मंगलवार वसेको मोर्चाका शिर्ष नेताहरुको बैठकले मोर्चाका सीमाहरुलाई सुधार गर्दै थप सशक्त बनाउने निर्णय गरेको हो ।
मोर्चाले समाजवादी गणतन्त्रका लागि ठोश कार्यक्रम बनाएर जनतासम्म पुग्ने र भ्रष्टाचार र विकृति विसंगति विरुद्ध जनसंघर्ष समेत गर्ने निचोड निकालेको छ ।
बैठकपछि समाजवादी मोर्चाका सदस्य सचिव प्रकाण्ड सीले संचारकर्मीलाई मोर्चाको बैठक सकरात्मक भएको सुनाउदै आगामी दिनमा देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय भएको बताउनु भयो ।
उहाँले राजावादीहरुको आन्दोलनलाई चैत्र १५ को मोर्चाको जनसभाले रक्षात्मक अवस्थामा पुर्याएको जिकिर गर्दै मोर्चाले गणतन्त्रको रक्षाका लागि राम्रो गरेको निश्कर्ष निकालेको जानकारी दिनु भयो ।
‘हाम्रा केही सीमा पनि रहे । सशक्त रुपमा मोर्चाका कार्यक्रम नहुदा केही निरासा र अन्यौलता भयो । यसलाई हामीले सुधार गरेर अगाडि जाने सहमति भएको छ’ मोर्चाका सदस्य सचिव प्रकाण्डले भन्नु भयो, ‘भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाऔँ । देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गरौँ भन्ने निर्णय भएको छ ।’
‘हाम्रो सीमालाई निर्ममतापूर्वक सच्याउनुपर्छ । देश अप्रिय स्थितिमा पुगिरहेको छ । डरलाग्दो निराशावादमा गएको छ । समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्छ । देशलाई समाजवादी दिशामा लैजान अन्य पार्टी र समूहसँग छलफल र बहस गरी अगाडि बढाऊँ । फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजाऔँ भन्ने निर्णय ग¥यो ।’ प्रकाण्डले बताउनु भयो ।
समाजवादी मोर्चाका संयोजक विप्लव सीको अध्यक्षमा वसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वामदेव गौतम, कृष्ण वहादुर महरा, देव गुरुङ, नेकपाका प्रवक्ता तथा मोर्चाका सदस्य सचिव प्रकाण्ड सी,लगायतका नेताहरुको सहभागित रहेको थियो ।