१४ भाद्र, सुर्खेत । हुम्लाहुदै नेपालगंजसम्म विधुतीय चुरोट (भेप) तस्कर गर्ने मुख्य योजनाकार मानिएका जिल्ला बन कार्यलय हुम्लाका निमित्त प्रमुख बन अधिकृत लोकजंग शाही र व्यापारी कुन्साङ दोर्जी लामा सम्पर्क विहिन हुनु भएको छ ।
विद्युतीय चुरोट(भेप) तस्करीको आरोपमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरले छानबिन अघि बढाएपछि तस्करी गर्ने मुख्य योजनाकार मानिएका जिल्ला बन कार्यलय हुम्लाका निमित्त प्रमुख बन अधिकृत शाही र व्यापारी दोर्जी लामा सम्पर्क विहिन हुनु भएको हो । उहाँहरु दुबै जनाहरुले यहि भाद्र ७ गते सेतक चिनी जडिबुटी भनेर जिल्ला बन कार्यालयको टाँचा लगाएको ना. अ. प. आ. ८३ नम्वरको ट्रकमा ३९ हजार ९ थान भेप लोड गरी नेपालगंज पठाएको पुष्टि भएको छ ।
दैलेखको आठविस नगरपालिका ६ खिड्की ज्यूलाबाट सशस्त्र प्रहरीको टोलीले चेक जाँच गर्दा ३९ हजार ९ थान भेप वरामद गरेको थियो ।

सशस्त्र प्रहरीले सो क्रममा हुम्लाको सिमिकोट गाउँपालिका– ५ घर भएका २७ वर्षीय छिरिङ लामा,मुगुको छत्यांक गाउँपालिका– ५ घर भएका ३२ वर्षीय जनक रोकाय र सोही ठाउँका २७ वर्षीय चालक भूमि रोकायलाई पक्राउ गरी सामान ट्रक सहित उहाँहरुलाई कोहलपुर राजस्व अनुसन्धान कार्यालयमा भाद्र ८ गते बुझाएको थियो ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुर र प्रहरीले अनुसन्धान गर्दै जाँदा यसको मुख्य योजनाकारको रुपमा निमित्त जिल्ला वन कार्यालय प्रमुख बन अधिकृत शाही र व्यापारी दोर्जी लामा देखिएको भन्दै पक्राउ गर्न प्रहरीलाई पत्रचार गरेको छ । उहाँहरु पक्राउ पर्ने डरले अहिले फरार भई सम्पर्क विहिन भएको प्रहरीले बताएको छ ।
तस्करीका भेप नेपाल–चीन सीमा क्षेत्र हुम्लाकै नाम्खा गाउँपालिकाको लिमी हुँदै भित्रिएको पाईएको छ । त्यही भेप सेतक चिनीका मालिक व्यापारी दोर्जी लामाले ढुवानी गर्ने जिम्मेवारी लिएको देखिएको छ ।
राजस्व अनुसन्धान कार्यालयका एक अधिकारीले फरार दुवैजनालाई पक्राउ गरिदिन नेपाल प्रहरीलाई पत्राचार गरिएको जानकारी दिएका छन । राजस्व अनुसन्धान कार्यालयको पत्रपछि फरार दुवै जनाको खोजी कार्य भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन ।
फरार रहेका बन अधिकृत शाही नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाहीका भाइ भएको खुल्न आएको छ । शाही विगत १६ वर्षदेखि हुम्ला वन कार्यालयमा कार्यरत रहेको पनि खुलेको छ ।
कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री केन्द्रका सञ्चालक समेत रहनु भएका व्यापारी दोर्जी लामाले हुम्लाको सर्मथान राष्ट्रिय बनबाट संकलन गरी नाम्खा गाउँपालिका–१ मा घाटगद्दी गरिएको सेतक चिनी भन्दै ३ भदौमा ५ हजार केजी जडीबुटी नेपालगञ्जसम्म लैजान अनुमतिपत्रका लागि जिल्ला बन कार्यालयमा निवेदन दिनु भएको पाईएको छ ।
त्यसको पर्सिपल्ट ५ भदौमा वन अधिकृत शाहीले सेतक चिनी लैजान हुम्लादेखि नेपालगन्जसम्मका रुटमा पर्ने जिल्ला तथा इलाका हुँदै जान अनुमति दिनु भएकोे थियो ।
त्यसपछि वनकै दुई कर्मचारी सन्तोष खत्री र कृष्णबहादुर हमालले नेपालगन्जसम्म पुग्ने रुट उल्लेख गरेर जाँचपास पत्र जारी गर्नु भएको देखिएको छ ।
५ हजारको अनुमति मागेपनि २ हजार ४ सय ६ केजी सेतक चिनी भेटिएको छ । ट्रकमा फेला परेको भेपको बजार मूल्य करिब १० करोड रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ ।
वनले जाँचपासका क्रममा ट्रकमा ५ हजार केजी जडीबुटी उल्लेख गरेपनि आधाभन्दा कम परिमाणमा सेतक चिनी माथिल्लो भाग र त्यसभन्दा मुनी तस्करीमा भेप राखेर पठाएको राजस्व अनुसन्धनन कार्यालय कोहलपुरले बताएको छ ।
हुम्लाका डिभिजन वन अधिकृत चन्द्रवीर गुरुङ ६ साउन २०८२ देखि कार्यालयकै कामको सिलसिलामा सुर्खेतस्थित कर्णाली प्रदेश वन मन्त्रालयमा काजमा रहनु भएको छ । गुरुङ सुर्खेत झरेपछि निमित्त प्रमुखका रूपमा शाहीले जिम्मेवारी समालि रहनु भएको थियो । राजनीतिक ठुलो चलखेलको आडमा भेपको ठुलो तस्करी भएको प्रहरीको अनुमान छ । पक्राउ परेका तीनजनालाई कोहलपुर प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।
