१४ असोज,वाजुरा । जिल्लाको एक मन्दिरमा दलित प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्ष सहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो । वडाध्यक्ष जुद्ध ऐडी नेपाली काँग्रेस बाट निर्वाचित हुनु भएको थियो ।
त्रिवेणि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिनु भयो ।
घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका ५ नुवाघर घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि वडाध्यक्ष ऐडीसहितको समूहले ‘तँ डुमले नवरात्री पूजा गर्न पाइँदैन’लगायतका कानूनले बर्जित गरेका शब्द प्रयोग गरि कुटपिट तथा जातीय रुपमा विभेद गरेका थिए ।
नाटेश्वरी मन्दिरमा नवरात्रको पूजाआजा गर्न कन्चनपुरबाट बाजुरा पुगेका सुनारलाई मन्दिर प्रवेश गरेर पूजा किन गरेको भन्दै वडा अध्यक्ष अयडीसहित स्थानीय रंगलाल पाध्याय र विनोद ऐडीले निर्घात कुटपिट गरी नगद ६० हजार नगद रुपैयाँसमेत लुटेको भन्दै पीडित सुनारले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा ३ जनाविरुद्ध मुद्दा दर्ता गर्नु भएको हो । मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ ।
जातीय विभेद तथा छुवाछुत भेदभाव गर्ने जो सुकैलाई पनि कानुनी कारबाही हुनुपर्ने जिल्लाका दलित अगुवाले माग गरेका छन् ।