१३ कार्तिक,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विवेक सीले शान्तिपूर्ण राजनीतिमा पहिलो हतियार पत्रकारिता भएको बताउनु भएको छ ।
जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार देखि आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै केन्द्रीय सदस्य विवेकले यस्तो कुरा बताउनु भएको हो ।
उहाँले सशस्त्र युद्धका बेला पहिलो हतियार सेना भएपनि शान्तिपूर्ण तथा विचारको राजनीतिमा पहिलो हतियार पत्रकार र पत्रकारिता हुने दाबी गर्नु भयो ।
उहाँले समाजमा दुईवटा वर्ग रहेको चर्चा गर्दै वर्ग विभाजनको प्रतिविम्व पत्रकारिताको क्षेत्रमा पनि देखिने हुदा श्रमजीवी वर्गको समाचार कमै बन्ने गरेको टिप्पणी गर्नु भयो ।
मध्यकर्णाली व्यूरो इन्चार्ज समेत रहेका विवेकले तालिममा सहभागीहरुलाई अब श्रमजीवी वर्गको अस्सली पत्रकार बन्न र तालिममा सिकेको ज्ञान व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिदै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले समाजमा समस्याहरु छन भन्नेमा प्रायःसबै सहमत भएपनि समाधान दिने विषयमा नेपालका राजनीतिक पार्टीहरुका फरक दृष्टिकोण भएको बताउनु भयो ।
उहाँले क्रान्तिकारी विचार बोकेको जनपत्रकार संगठन अरु भन्दा फरक भएको र समाचार दिने कुरा पनि फरक भएको दाबी गर्नु भयो ।
अध्यक्ष विश्वकर्माले जनपत्रकारहरु जनताको पत्रकार भएकाले समाज परिवर्तनका लागि कलम चलाउनमा व्यस्त हुनुपर्नेमा जोड दिनु भयो ।
नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्रुव सीले पनि पत्रकारिताको मोर्चा वर्गीय दृष्टिकाणमा चल्ने मोर्चा भएको बताउनु भयो । उहाँले तालिमबाट राम्रोसंग ज्ञान सिकेर व्यवहारमा लागु गर्न पनि सहभागीहरुलाई सुझाव दिनु भयो ।
प्रतिक्रिया दिनुहोस