नरवानेलाई मानार्थ प्रधानसेनापतिको उपाधि नदिन विप्लव नेकपाको चेतावनी


कार्तिक १४ काठमाण्डौं ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको नेपाल भ्रमणको तयारी भइरहेकै बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उनलाई नेपालको मानार्थ प्रधानसेनापतिको उपाधि नदिन सरकारलाई कडा चेतावनी दिएको छ ।
सो पार्टीले प्रश्न गरेको छ केही समयअघि मात्र राजनीतिक र कूटनीतिक मर्यादासमेत नाघेर नेपालको सीमा र सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिने व्यक्ति र संस्थालाई नै मानार्थ प्रधानसेनापतिको उपाधि दिने कार्यले नेपाली राष्ट्रियता र नेपाली सार्वभौमसत्ताको सम्मान हुन्छ वा अपमान ?
नेकपाले वुधवार एक अपिल जारी गरि नेपाली राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा, अतिक्रमित नेपाली भूमि फिर्ताका लागि थप राजनीतिक, कूटनीतिक पहल र अन्तर्राष्ट्रियकरणका निम्ति विश्वभरिका नेपाली र शुभचिन्तकहरूको प्रभावकारी एकता र सङ्घर्षपूर्ण दबाब अनिवार्य भएको जनाएको छ ।
पार्टीेले भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर्न, कालापानीबाट भारतीय सेना फिर्ता गर्न र नेपाली सार्वभौकिताको सम्मान गर्नसमेत सरकारसँग माग गरेको छ ।
साथै नेकपाले सरकारले कोरानाका शंकास्पद बिरामी सबैलाई निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने माग गर्दै कोरोनाबाहेक अन्य बिरामीको उपचारमा भइरहेको लापरबाही तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ ।
‘कोरोनाको कहर कतिपय पहुँचवालाहरुका लागि भने कमाउधन्दा बनिरहेको छ । कोरोनाका नाममा कमिसन र व्यापारीकरण चलिरहेको छ,’ अपिलमा भनिएको छ, ‘उनीहरुलाई कारबाहीको सट्टा सरकार आफैँ भ्रष्टाचार र कमिसनमा व्यस्त छ । हामी कोरोना सम्बन्धित र अन्य सम्पूर्ण भ्रष्टाचारमा संलग्नहरुलाई गम्भीर चेतावनी दिन चाहन्छौँ ।’
हालै भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीलगायत विभिन्न नेताहरुसँग गोप्य भेटले राष्ट्रियताबारे थप आशंका पैदा गरेको सो पार्टीको ठहर छ ।
पार्टीका तर्फबाट अपिल प्रकाशित गर्दै सो पार्टीले कोरोना सङ्क्रमण आशङ्कित सबैलाई निःशु्ल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने र कोरोनाबाहेकका अन्य बिरामीको उपचारमा भइहेको लापरबाही अन्त्य गरी औषधिको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
‘कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा लड्ने सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी डाक्टर, नर्स, सफाइकर्मी, सुरक्षागार्डलगायतलाई विशेष आर्थिक सुविधासहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्छ,’ अपिलमा भनिएको छ ।
काम गर्न पनि नपाउने र गाँस, बास, लुगाकपडाको व्यवस्था गर्न नसक्ने किसान, मजदुर, भूमिहीन, सुकम्बासी, रोजगारविहीन हुन बाध्य भएका र बेरोजगार परिवारको न्यूनतम् दैनिक जीवनयापनका लागि राज्यले जिम्मा लिन जरुरी रहेको पनि सो पार्टीले अपिलमा औंल्याएको छ ।
नेकपाले नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणका निम्ति सङ्घर्षरत आफ्नो पार्टीले कोरोनाका कारण उच्च किसिमका सङ्घर्षका कार्यक्रमहरू स्थगित गरेको उल्लेख गर्दै सरकारले पार्टीका जिम्मेवार नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई समेत गिरफ्तार गर्ने, मुद्दा लगाउने, शारीरिक र मानसिक यातना दिने कार्यलाई निरन्तरता दिइरहेको अपिलमा भनिएको छ ।
पार्टीले ‘बिरामी राजनीतिक बन्दीहरूको उचित उपचारमा बेवास्ता गरिरहेको भन्दै देशको संवेदनशील क्षणमा पार्टीद्वारा प्रस्तुत संयमलाई कमजोर नठान्न चेतावनी दिन दिएको छ ।
अपिलमा यतिबेला सरकारले राष्ट्र र जनसरोकारका पक्षमा आवाज उठाउने जुनसुकै राजनीतिक शक्ति, नागरिक अगुवा, व्यक्तित्व र जनसमुदाय सबैप्रति दमनको नीति अपनाइरहेको आरोपसमेत लगाइएको छ ।
दमनले प्रतिरोध र हिंसाले प्रतिहिंसा जन्माउँछ भन्ने कुरा आधारभूत ऐतिहासिक सत्य भएको पनि सो पार्टीले स्मरण गराएको छ ।
अपिलको पूर्ण पाठ जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस