भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कालिकोटका एकै परिवारका चार जनाको मृत्यु

१५ पुस, बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उहाँका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयाे

धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर खिमबहादुर घर्तीमगरले जानकारी दिनसभयाे ।

परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस