‘बस पल्टिएर मान्छे मर्याे भनेर बसमा आगो लगाउँदै हिँड्ने ?’

माघ १७, काठमाडौं । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वा्चित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गर्नु भएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले भन्नु भयो , ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ, बस आगो लगाउँदै हिँड्ने ?’ छाउगोठ भत्काएर सरकारले नचाहिँदो काम गरेको उहाँले बताउनु भयो ।

‘हिजो गोर्खाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठको नाममा हाम्रो घर भत्काउने ? के हेरेर बस्या छ गृहमन्त्रालय ? काम पा’छैन यसले ?’ उहाँले प्रश्न गर्नु भयो ।

छाउगोठ भत्काउनु भन्दा भ्रष्टाचार र अनियमितता रोक्न उहाँले सरकारलाई सुझाव दिनु भयो । ‘जिल्लामा नुन बेचिएको छ, औषधि बेचिएको छ, त्यत्रो भ्रष्टाचार छ, उनीहरुलाई सम्हाल्नु छैन,’ सांसद महतले भन्नु भयो ‘पुलको बेहाल छ, बाटोको बेहाल छ, ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तिनलाई कारबाही गर्नुपर्दैन ? स्कुलको अवस्था केछ, हस्पिटलको अवस्था केछ ? त्यो हेर्नुपर्दैन ?’

पश्चिम नेपालका कतिपय जिल्लाहरुमा महिनावारी भएका महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ । छाउगोठमा बसेकै अवस्थामा कतिपयको मृत्यु हुन थालेपछि सरकारले छाउगोठ भत्काउने अभियान चलाएको छ । स्थानीय प्रहरी प्रशासनले छाउगोठ भत्काए पनि स्थानीयले फेरि पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस