१८ चैत्र, काठमाडौं । समाजवादी मोर्चाले चैत्र १५ गतेको राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको भएको निश्कर्ष निकालेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौमा सोमवार वसेको समाजवादी मोर्चाको बैठकले राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको भएको निश्कर्ष निकालेको हो ।
बैठकले त्यही दिन समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रम भने शालीन र सशक्त भएको निश्कर्ष पनि निकालेको छ ।
समाजवादी मोर्चाका सदस्य सचिव प्रकाण्ड सीले राजावादीहरुको आन्दोलन आततायी र जंगली चरित्रको भएको र समाजवादी मोर्चाको आन्दोलन भने गणतन्त्रको रक्षामा सशक्त भएको निश्कर्ष निकालेको जानकारी दिनु भयो ।
उहाँले राजावादीहरूको क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्न अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको बताउनु भयो ।
समाजवादी मोर्चाले घटनामा संलग्न व्यक्ति र योजनाकारहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तीनकुने घटनामा भएको क्षतिको भरपाई सरकार स्वयंले योजनाकारहरूबाट असुल गरेर तिराउनुपर्ने निर्णय पनि बैठकले गरको छ ।
समाजवादी मोर्चाले जनतालाई जागरूक बनाई खतराप्रति सचेत गराउँदै परिचालन गर्ने योजना बनाउने निष्कर्ष निकालेको छ । नेपालका युवालाई सङ्गठित गरेर गणतन्त्रको रक्षकका रूपमा अघि सार्नुपर्ने निर्णय समेत गरेको छ ।
सदस्य सचिव प्रकाण्ड सीले भन्नु भयो, ‘चैत्र १५ गते समाजवादीहरूको आन्दोलन शालीन र सशक्त रहेको प्रमाणित भएको छ। गणतन्त्रको रक्षा मजबुत रूपमा भइरहेको छ। यदि सोही दिन समाजवादी मोर्चाले विरोध सभा आयोजना नगरेको भए, प्रतिगामी तत्त्वहरूले कोटेश्वरमा देखाएको गैर जिम्मेवार गतिविधि झन् उग्र हुन सक्थयो । तिनको उद्देश्य देशमा अशान्ति मच्चाउने नै थियो । आन्दोलनको स्वरूप हेर्दा यो योजनाबद्ध, आततायी र जंगली चरित्रको देखिन्छ । यस्तो गतिविधिलाई नियन्त्रण गर्न १५ गतेको विरोध सभाले महत्त्वपूर्ण योगदान पु¥याएको छ ।’
समाजवादी मोर्चाले हालको परिस्थितिमा विदेशी शक्तिहरूले कतै न कतै राजावादी आन्दोलनलाई समर्थन गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।