हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छः प्रधानमन्त्री ओली

१८ चैत्र,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनु भएको छ ।
सोमवारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनु भएको हो ।
उहाँले घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने चेतावनी दिनु भयो ।
‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न,’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?’
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागुनमा आफू अघि बढ्न साथ देऊ भन्दै वक्तव्यबाजी गरेपछि कथित स्वागतको नाममा जनमत भड्काउने काम सुरु भएको बताउनु भयो ।
प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रले दुर्गा प्रसाईंलाई आन्दोलनको कमान्डर तोकेको भन्दै प्रधानमन्त्री ओलीले प्रसाईं जस्ता अवाञ्छित व्यक्तिलाई आन्दोलनको कमान्डर बनाएर प्रर्दशनमा जानु गलत भएको बताउनु भयो ।
‘सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित जनकमान्डर आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।
पूर्वराजा ज्ञानेन्द्रलाई पूर्व राष्ट्रप्रमुखको हैसियतमा रहन सक्ने गरी दिएको सुविधा ख्याल गर्न प्रधानमन्त्री ओलीको पुनः चेतावनी दिनु भयोे ।

प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा पर्नु भएका कुलमान घिसिङको विषय अदालतमा विचाराधीन रहेकोले संसदमा यसबारे थप चर्चा, परिचर्चा विधिसम्मत नहुने तर्क गर्नु भयो । उहाँले समाजवादी मोर्चाको चैत्र १५ गते शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रदर्शन र जसभालाई धन्यवाद दिनु भयो ।

प्रतिक्रिया दिनुहोस