कर्णाली करिडोरको खुलालु –लालीघाट सडकखण्ड ५ दिन बन्द हुदै

१७ जेठ, कालिकोट । कर्णाली करिडोरको खुलालु –लालीघाट सडकखण्ड पाँच दिन बन्द हुने भएको छ ।

खुलालु–लालीघाट सडकखण्डमा सडक मर्मत गर्नु पर्ने भएकाले आगामी मंगलबार २० गते विहान देखि २४ गते साँझसम्म पाँच दिन सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएको हो ।

सडक बन्द हुँदा कालिकोट, बाजुरा र हुम्लाका यात्रुहरुलाई असुविधा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि जेष्ठ २० गतेदेखि २४ गतेसम्म पाँच दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयो ।

उहाँले कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने र हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुहरुलाई गन्तव्यमा पठाउन सकिने बताउनु भयो ।

सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु–लालीघाटसडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साँघुरो र अप्ठ्यारो सडकका कारण निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड पाँच दिन बन्द गर्नुपरेको प्रशासनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस