दलाल पूँजीवादले सत्ता संचालनमा पनि संकट पैदा गर्यो: नगर प्रमुख शाही

१७ जेठ, कालिकोट । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल वहादुर शाहीले नेपालमा दलाल पूँजीवाद हावी हुदै गएकाले स्थानीय तहको सत्ता संचालनमा समेत संकट पैदा भएको वताउनु भएको छ ।

बुधवार सुर्खेतको वीरेन्द्रनगरमा ज्वाला खवर डट्कम संगको संक्षिप्प कुराकानीका क्रममा नगर प्रमुख शाहीले दलाल पूँजीवादका कारण चाहेरपनि जनताको सेवा प्रवाह गर्न कठिन भएको वताउनु भएको हो ।

उहाँले राज्यको पूँजी निश्चित दलालहरुको हातमा केन्द्रीत हुदा सरकार आर्थिक संकटमा परेको र त्यसको असर स्थानीय सरकारलाई पनि परेको वताउनु भयो ।

उहाँले संघीय सरकारले स्थानीय तहमा पठाउने अनुदान रकम समेत घटेर आउने अवस्था दलाल पूँजीवादका कारण भएको ठोकुवा गर्नु भयो ।

उहाँले आफूले निम्न बर्गको पक्षमा विगत देखि निरन्तर आवाज उठाउदै आएका कारण स्वतन्त्र उम्मेदवारी दिएर पनि नगर प्रमुख पदमा जनताले विजय गराएको भन्दै जनताको सेवा गर्नु आफ्नो मुख्य दायित्व भएको वताउनु भयो ।

उहाँले जनताको पक्षमा विगतमा गरेको कामको बारे स्मरण गर्दै भन्नु भयो “२०५८ सालको कुरा हो । कालिकोटमा खाद्यन्न संकट थियो । पलाँता, दाहा लगायतका क्षेत्रका करिव ९ सय जनता चामल ल्याउन भनेर मान्ममा आएका थिए । प्रशासनको कुप्पनका आधारले चामल दिने चलन थियो । प्रशासनले जनतालाई कुप्पन दिइदैन थियो । पहुचवालालाई मात्र चामल दिने गरिएको थियो । त्यो वेला आफुले सिडियो संग कुप्पन जनतालाई दिनु पर्यो भनेर ३ दिन सम्म कुरा गर्दा पनि दिएन । अन्तीममा आफुले आँखा देखिन नेपाल खाद्य संस्थानको डिपोको कर्मचारीको हातमा भएको चावी थुतेर ताला खोली ७७ क्विन्टल चालमको पैसा साढे तिन लाख टेवुल अगाडि राखेर जनतालाई चामल वितरण गरे ।”

उहाँले त्यो कामले जनता निकै खुसी भएको वताउदै उहाँले भन्नु भयो “अहिले पनि मलाई जनताले माया गर्छन । मलाई जनतालाई चामल वितरण गरेकै कारण प्रशासनले २ घण्टा नियन्त्रणमा पनि लियो ।”

जनताको पक्षमा ज्यान दिएरै फेरी पनि काम गर्न आफू प्रतिवद्ध रहेको भन्दै नगर प्रमुख शाहीले तर चाहेजति यो व्यवस्थाको प्रणालीमा काम गर्न नसकेको स्वीकार गर्नु भयो ।

उहाँले अझै पनि खाँडाचक्र नगरपालिकामा आफु नगर प्रमुख भएपछि निशुल्क सुत्केरी एम्वुलेन्स सेवा संचालन गरेको,दसै सम्म नगरका पाँच हजार घरमा खानेपानी सेवा दिने लक्ष्यका साथ काम अगाडि वढाएको, सुशासन सामाजिक सद्भाव र एकताको लागि जोड दिदै आएको खुलासा गर्नु भयो ।

उहाँले नगरपालिका क्षेत्रमा चेतनाको अभावले अहिले पनि वाल विवाहको समस्या न्युनिकरण हुन नसकेको र पहिलेको भन्दा केही कमी हुदै गएको भएपनि यसलाई उन्मुलन गर्ने प्रयास गरिरहेको वताउनु भयो ।

समाजमा जातीय विभेद तथा छुवाछुतका घटनाहरु विगतको भन्दा कमी हुदै गएको भएपनि थप समाज सुधारका लागि सामाजिक विकृति र भेदभाव विरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरिने पनि वताउनु भयो ।

नगर प्रमुख शाहीले नगरपालिकालाई अरु भन्दा नमुना योग्य नगरपालिका वनाउने तर्फ आफ्नो कोशिस भईरहेको भन्दै त्यसका लागि सवै क्षेत्रको सहयोगको खाँचो महसुस गरेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस