साउन १६, सुर्खेत । कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ, भने आठजना बेपत्ता भएका छन् । यस वर्ष अहिले सम्म दुई करोड ९१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ ।
बाढी पहिरोमा परेर सुर्खेत, सल्यान र दैलेखमा एक÷एक, जाजरकोटमा १५, कालीकोटमा १२ र रुकुम पश्चिममा चारजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै दैलेखमा ६, जाजरकोटमा सात, कालीकोटमा दुई र रुकुम पश्चिममा पाँचजना घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिनु भयो । उहाका अनुसार जाजरकोटमा दुई र कालीकोटमा ६ जना बेपत्ता भएका छन् बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अविरल वर्षा संर्ग अहिलेसम्म कर्णालीका विभिन्न ठाउँका ६१ घरमा क्षति पुगेको छ ।
बिहीबार मात्रै कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, बुढागाउँका ६० वर्षीय पर्शुराम सन्ज्याल र उहाकी बुहारी २९ वर्षीया ताराको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्शुराम पानी लिन गएको र तारा नजिकैको जंगलमा स्याउला लिन जाँदा माथिबाट पहिरोले बगाएको वताइएको छ ।
कर्णालीका एक हजारभन्दा बढी घर अहिले पहिरोको जोखिममा रहेको सरकारी अधिकारीहरुको भनाइ छ । बस्ती विकासमा ध्यान नदिँदा बाढी पहिरोको मारमा सर्वसाधारण परिरहेका छन् ।
यसैबीच नहरमा डुबेर रुकुम पश्चिममा एक बालिकाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१, लागिमकी १७ वर्षीया कल्पना विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस