ऋण लागेको भन्दै वडाध्यक्ष गए वैदेशिक रोजगारीमा कार्यालय सहयोगी हुँदै बनेका थिए वडाध्यक्ष

२३ साउन, काठमाडौं । २०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका चन्द्रबहादुर गुरुङ चुनावपछि सोही वडाको अध्यक्ष बने ।

दाङको राप्ती गाउँपालिका–८ को वडाध्यक्ष सम्हालेको तीन वर्ष नपुग्दै उनी रोजगारीका लागि विदेश गएका छन् । वडा सदस्य चम्फा पुनलाई साउन १७ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिंदै गुरुङ बेलायत गएका हुन् ।

कार्यवाहक दिइएको पत्रमा उनले विशेष कामले विदेश जान लागेको उल्लेख गरेको भए पनि कहिलेसम्म भनेर खुलाएका छैनन् ।

परिवारले दिएको जानकारी अनुसार ऋण बढेपछि उनी बेलायत गएका हुन् । स्थानीय तहको चुनावी खर्च र बिरामी आमालाई उपचार गर्दा ऋण लागेको उनको परिवारले जनाएको छ ।

ऋणको ब्याज बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि गुरुङ साउन २० गते बेलायत उडे ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार वडाध्यक्ष गुरुङ विदेश गएकोबारे पालिकालाई औपचारिक पत्रबाट जानकारी गराइएको छैन ।

गाउँपालिका अध्यक्ष विष्टले उनी विदेश जान लागेको हल्ला पहिले नै सुनेका थिए । साउन १६ गतेको कार्यपालिका बैठकमा अध्यक्ष विष्टले त्यसबारे वडाध्यक्ष गुरुङसँग सोधेका पनि थिए । ‘घरासयी ऋण धेरै छ । ऋण तिर्न बाहिर जान लागेको कुरा भन्नु भएको थियोे,’ विष्टले भने, ‘हामीले आफ्नो कार्यकाल पूरा गरेर जान सम्झाएका थियौं । पछि उहाँ विदेश गएको खबर पायौं ।’

परिवारका अनुसार गुरुङ ‘सिजनल भिसा’मा बेलायत गएका छन् । उनले पाँच, छ महिनापछि आफू फर्कने बताएका छन् । गुरुङको श्रीमती र दुई छोरा छन् । एउटा १२ कक्षामा र अर्को ८ कक्षामा पढ्छन् ।

पहिले खाडी अनि कार्यालय सहयोगी

उनी पहिले वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । तीन वर्ष साउदी अरब र मलेसियामा बसेर घर फर्किए । त्यसपछि फेरि विदेश नै जाने तयारीमा थिए ।

तर अघिल्लो कार्यकालका वडाध्यक्ष गोकर्णबहादुर रानामगरले वडा कार्यालयमा सहयोगीको रुपमा काम गर्न बोलाए । ‘गाउँघरमा रोजगारी नभेटिएपछि म फेरि विदेश जाने तयारीमा थिएँ,’ २०७९ सालमा चुनाव जितेपछि वडाध्यक्ष गुरुङले भनेका थिए, ‘अध्यक्षज्यूले बोलाएर सहयोगीको काम दिएपछि विदेश नगई यही बसें ।’

उनले वडा कार्यालयमा पाँच वर्ष कार्यालय सहयोगी भएर बिताएका थिए । कार्यालय सहयोगी हुँदाहुँदै २०७९ को चुनावमा उनले एमालेबाट टिकट पाए ।

चुनावमा प्रतिस्पर्धी कांग्रेसका प्रभाकरदेव चौधरी र माओवादी केन्द्रका रामचन्द्र चौधरीलाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस