१२ पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता गरेका छन्।
दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारको विषयलाइ सम्बोधन गर्नेगरी दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।
दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।
प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने, प्रदेश कानुन बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने, राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकारसमक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजनासम्बद्ध सवालहरुमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने साझा प्रतिवद्धतामा उल्लेख छ ।
त्यस्तै लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर-सुर्खेत १३२ के.भी.ए. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने र अन्तर प्रदेश आवद्ध भएका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन्।
अन्तरप्रदेश आवद्ध भएका सडकहरुमा जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग, कोहलपुर-सुर्खेत सडक र कोहलपुर–बबई तथा बबई छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययन रहेका छन्।
त्यसैगरी दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने, विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वय गर्ने, लागू औषध ओसारपसारको नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गर्ने, लुम्बिनी प्रदेशमा आउने धार्मिक पर्यटकहरुलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्नेगरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने, दुबै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजि क्षेत्रसंग समन्वय र सहकार्य गर्ने तथा दुबै प्रदेशको सीमानामा रहेका नदीनालाहरुमा जलविद्युत उत्पादन प्रसारण लाइन विस्तार तथा सिंचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने, बर्दियाको बाँसगढी १ र सुर्खेतको भेरीगंगा साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने, दुबै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने, कर्णालीमा उत्पादन हुने फलफूल, जडीबुटी र तरकारी बिक्रिका लागि लुम्बिनी प्रदेशका मुख्य बजारसम्मको पहुँच पुर्याउने, दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रबर्द्धनका लागि सूचना प्रविधिको माध्यमवाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने तथा दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवद्र्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिन दुबै प्रदेशका मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन्।