नेकपा नेतृत्वको ध्रुवीकरण कुनै दरबार र टी-इस्टेट खानका लागि होइन: विप्लव सी

२० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेकपाको नेतृत्वमा हुने एकता, ध्रुवीकरण भ्रष्टाचार र कुनै दरबार, टि-इस्टेट खानका लागि नभएको बताएका छन ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा शनिबार आयोजित कम्युनिस्ट क्रान्तिकारीहरू बीचको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको नेतृत्वमा हुने एकता भ्रष्टाचार, कुनै दरबार, टि-इस्टेट खान, सरकारको जग्गा हिनामिना गर्नका लागि र मन्त्री भएर यो देशको पैसा विदेशमा लुकाउनका लागि नभएको बताएका हुन ।

उनले भने, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रिय समितिको बैठकपछि ध्रुविकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रुपमा अजा प्रज्ञा भवनमा शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टि स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन ।

उनले माओवादी केन्द्र गणतन्त्रपछि लगातार सत्तामा रहेको र तीन पटकसम्म प्रधानमन्त्री हुँदा जनताले के पाए र अब ध्रुविकरण गरी बहुमत ल्याउँदा के पाइन्छ भन्ने जिज्ञासा जनतामा रहेको बताए ।

उनले भने, ‘माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेको छ । तर माओवादी केन्द्रबाट तीन पटक प्रधानमन्त्री भइसकेको छ। अरू थुप्रै अवसर पाएको छ। गणतन्त्रपछि लगातार १५ वर्ष माओवादी नेपालको सत्तामा छ। तर माओवादीले जनतालाई के दिन्छ त्यहाँपनि जनताको जिज्ञासा छ।’

त्यसकारण कम्युनिस्ट एकता र ध्रुविकरणको नेतृत्व नेकपाले गर्ने उनले बताए। ‘क्रान्तिकारीहरूबीच ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं। एक चोटी यो देशको नेतृत्व र सेवा गर्न नेकपा चाहन्छ भन्ने कुरा हामीले राखेका छौं,’ उनले भने ।

यद्यपि पार्टीले जिम्मा दिँदा आफूहरू संसदमा गएको र कोही मन्त्री पनि भए । ‘तर जुनदिन नेपालको स्वाधिनताको विरूद्धमा षड्यन्त्र भए। नेपाली जनताको अधिकारलाई छिन्ने षड्यन्त्र चल्यो, उत्पीडित जाति, समुदायको अधिकार छिन्नेतिर गयो, महिलाहरूको अधिकार छिन्नेतिर गयो त्यसपछि हामीले संसद र मन्त्री हेरेनौं,’ उनले भने।

त्यतिबेलाका संसदमा पुगेका दुई दर्जनभन्दा बढी नेताहरू अहिले नेकपामा आबद्ध रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस