२८ पुस, दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य सन्तोष सी (विषम)ले माओवादी केन्द्रसंग एकताको ढोका बन्द नभएको बताउनु भएको छ ।आइतबार पार्टीको दाङ जिल्ला बैठकलाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रसंग एकताको ढोका बन्द नभएको बताउनु भएको हो ।
नेता विषमले प्रचण्ड नेतृत्वको माओवादीसंग एकताको विषय जोडतोडले उठ्ने गरेको भएपनि नेकपाको निर्णय विचार मिल्ने पार्टीहरुसंग एकता र मुद्दा मिल्ने पार्टीहरुसंग मोर्चावन्दी गर्दै अघि बढ्ने रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘माओवादीसंग हाम्रो विचार मिल्दैन तर सैद्धान्तिक रुपमा समाजवादमा जाने , साम्यवादसम्म पुग्ने लक्ष्यहरु समान छन् । मुख्य कुरा माओवादीसंग पार्टी एकताको मात्रै होइन, यहाँ हामीले विचारको एकता गर्ने भनेका हौं । माओवादी केन्द्रसंग कार्यदिशा मिल्दैन, तत्काल एकता हुँदैन तर एकताको ढोका बन्द भएको छैन् ।’
उहाँले विचारको एकता नभए पछि पार्टी फेरि पनि फुट्न सक्ने आसंका गर्दै एकता त प्रचण्ड र केपीको बिच पनि भएकै हो तर त्यो टिक्न सक्यो त ?’ भनि प्रश्न गर्नु भयो ।
नेता विषयमले प्रचण्डहरुको कुरा चुनावदेखि चुनावसम्मको एकतामात्रै रहेको भन्दै नेकपाले चुनावलाई संघर्षको मोर्चा बनाउन चाहेको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘हामीपनि चुनावमा जाने नै हो, तर संसदीय चुनावबाट सबै हल हुन्छ भन्ने कुरा होइन् । हामी संसदीय सत्तामा पराकम्पन ल्याउन चुनावमा जाँदै छौँ । हामी चुनावबाट पनि दलाल पुँजीवादी सत्ता भत्काउन जाने हो । पार्टीबाट चुनावमा जितेकाहरुले जनसत्ताको काम गर्ने हो । पार्टीका सबै नेताकार्यकर्ताले चुनावलाई संघर्षको बलियो मोर्चाका रुपमा बुझ्नुपर्दछ ।’
उहाँले १० वर्षसम्म पार्टीले गरेका कामहरुलाई अब विचारमा संश्लेषण गर्ने बताउदै दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा ठुलाठुला योगदान गरेको र यसलाई एकमुष्ट गरेर पुँजीकृत गरी विचार अधिवेशन गर्ने बताउनु भयो ।
उहाँले अब पार्टीलाई समाजवादको नेतृत्वका लागि तयार पार्नु पर्ने बताउदै अहिले नेपालको सन्दर्भमा वैकल्पिक पार्टी नेकपा भएको दाबी गर्नु भयो ।
उहाँले नेपाली बिशेषताको समाजवादबाट मात्र दलाल पुँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवादसम्म पुगिने विश्वास व्यक्त गर्नु भयो ।
