४ फागुन, बैतडी । गैर दलित समुदायमा रहेको पुरानो विभेदकारी मानसिकका कारण बैतडीमा मृत्यु भएकी एक दलित महिलाको शव २४ घण्टापछि शव उठाएर आईतवार दाहसंस्कार गरिएको छ ।
जिल्लाको सिगास गाउँपालिका– १ का शिक्षक प्रकाश दमाईंकी आमा माना दमाईको कालगतिमा मृत्यु भएको २४ घण्टापछि मात्र शव उठाएर दाहसंस्कार गरिएको हो ।
उहाँकी ६१ वर्षीया आमा मानाको दलित भएकै कारण शव बोक्न स्थानीय कसैले पनि नमानेपछि अढाइ सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्तहरु बोलाईए शव उठाएर दाहसंस्कार गरिएको थियो ।
सिगास–१ स्थित घरभन्दा आधा घण्टानजिक डुब्के मसानघाट रहे पनि आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई करिब ५० किलोमिटर टाढाको पुख्र्यौली मसानघाट पाटन पुर्याएर दाहसंस्कार गरिएको छोरा प्रकाशले बताउनु भयो ।
गाँउमा मान्छे त धेरै थिए तर गैरदलित समुदायहरुले शवमा छुन नमानेपछि टाढाबाट आफ्ना आफन्तहरु बोलाउनु पर्यो प्रकाशले दुखेसो पोख्नु भयो ।
सिगास– १ अङडेगाडा गाउँमा करिब तीन सयजनाको बसोबास भएपनि प्रकाश दमाईंको परिवार भने एक्लै वस्ने परिवार हो ।
आमाको शवलाई अन्तिम संस्कारका लागि ट्याक्टरमा राखेर पाटन नगरपालिका– ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पु¥याइएको थियो । शवयात्रामा दुईजना गैरदलित समुदायका व्यक्ति मात्र सहभागी भएका थिए भने अरु १८ जना दलित समुदायका व्यक्तिहरु सहभागी भएका थिए ।
मानवियता भन्दा वाहिर गएर मान्छे मर्दा पर्दा पनि साथ नदिने गैरदलितहरुको यो विभेद नेपालको संविधान तथा कानून विपरितको कार्य भएको अधिकारकर्मीहरुले बताएका छन ।
अधिकारकर्मीहरुले यस्ता खालका पुराना जातीय विभेदका रुढीवादी परम्पराहरु तोड र सम्वन्धित ठाउँमा जनचेतना दिन सरकारसंग माग गरेका छन ।
उनीहरुले घटनाको वारे सत्य तथ्य छानविन गरी दोषिमाथि कानुन वमोजिम कार्वाही गर्न पनि माग गरेका छन ।
यो घटनाका वारे वडा अध्यक्ष रामचन्द ऐरीले गाउँका अधिकांश व्यक्तिहरू रोजगारीका लागि बाहिर भएको र केही सामाजिक मान्यताहरूका कारण शनिबार शव उठ्न नसकेको बताउनु भएको छ ।