एकपटक धित मर्ने गरी नेपाली जनताको सेवा गर्ने चाहना छः विप्लव सी

८ फागुन, रुकुम । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एकपटक धित मर्नेगरी नेपाली जनताको सेवा गर्ने चाहना भएको बताउनु भएको छ ।
समाजवादी मोर्चा नेपालका अगुवा कार्यकर्ताहरुसंग विहिवार रुकुम पश्चिमको चाईनावगरमा छलफल गर्दै नेकपाका महासचिव विप्लव सीले समाजवादी व्यवस्था मार्फत एकपटक धित मर्नेगरी नेपाली जनताको सेवा गर्ने चाहाना भएको बताउनु भएको हो ।
उहाँले नेपालमा जनयुद्धका कारण गणतन्त्रसम्म देश पुगेपनि गणतन्त्र दलाल पुँजीपतिवर्गको कव्जामा गएकाले नेपाली जनताले सबै अधिकार पाउन नसेको जिकिर गर्नु भयो ।
‘अहिले देशमा दलाल पुँजीवाद हावी छ, यसले देशको समस्या समाधान गर्न सक्दैन’ महासचिव विप्लवले भन्नु भयो, ‘एकपटक यो भन्दा राम्रो व्यवस्था नेपाली विशेषताको समाजवादमा देशलाई लैजानु पर्छ, समाजवादले मात्र देशको अग्रगामी निकास दिन सक्छ ।’

उहाँले देशलाई समावादतिर लिनु पर्छ भनेर नै समाजवादी मोर्चा बनेको जानकारी दिदै नेपालका सबै कम्युनिष्टहरु एकताबद्ध भएर समाजवाद तिर जानुपर्ने विचार राख्नु भयो ।
‘कांग्रेसले समेत समाजवादको कुरा गर्छ कांग्रेसको समाजवाद कस्तो हो ? एक, दुई, तीन लेखर ल्याउनु होस त्यसमा कम्युनिष्टहरुले भन्ने समाजवाद र कांग्रेसले भन्ने समाजवादमा वहस गरौं मिलेका कुरा एकठाउँमा ल्याउर देशलाई समाजवाद तिर लैजाऔं’ महासचिव विप्लवले भन्नु भयो, नत्र समाजवाद नभनौं, यदि समाजवादमा जाने नै हो भने समाजवाद भनौ ।’
उहाँले नेपालमा प्रयोग भएर असफल भएको राजतन्त्र फर्किने कुनै सम्भावना नभएको ठोकुवा गर्नु भयो ।
महासचिव विप्लवले नेपाली जनताको प्रबल मत समाजवाद भएको भन्दै देशभक्त, प्रगतिशील,कम्युनिष्ट शक्तिहरु मिलेर समाजवादमा देशलाई लैजानुको विकल्प नभएको दाबी गर्नु भयो ।
उहाँले देश, जनता र समाजवादलाई केन्द्रमा राखेर माओवादी घटक तथा समाजवादी मोर्चा भित्रका दलहरुको एकता गर्नुपर्ने विचार पनि व्यक्त गर्नु भयो ।
समाजवादका लागि एकपटक जनताको मत लिन नेकपा चुनावमा जान तयार भएको भन्दै महासचिव विप्लवले आवश्यक परे समाजवादका लागि विद्रोह गर्न पनि नेकपा तयार भएको बताउनु भयो ।
उहाँले एमाले कम्युनिष्ट शक्ति भएको भन्दै समाजवादमा जानका लागि कुनै दम्भ र घमण्ड नगरेर सहकार्य र एकतामा आउन सुझाव दिनु भयो ।

प्रतिक्रिया दिनुहोस