दरबार हत्याकाण्डको ‘मास्टरमाइन्ड’ र मूर्ति चोर ज्ञानेन्द्र भएको प्रचण्डको खुलासा

१ चैत्र,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डको ‘मास्टरमाइन्ड’ र मूर्ति चोर पूर्व राजा ज्ञानेन्द्र भएको खुलासा गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्र मेलम्ची नगर समिति सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै दरबार हत्याकाण्डको ‘मास्टरमाइन्ड’ र मूर्ति चोर पूर्व राजा ज्ञानेन्द्र भएको खुलासा गर्नु भएको हो ।
उहाँले २०५८ सालमा भएको ’दरबार हत्याकाण्डको मास्टरमाइन्ड’ र ’मूर्ति चोर’ ज्ञानेन्द्र आफै भएको गम्भीर आरोप लगाउदै यस्ता बदनाम संस्था फेरि फर्किने सम्भावना नरहेको ठोकुवा गर्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले भन्नु भयो, ‘जुन नौटङ्कीहरू देखाइँदैछ । २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पु¥याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठुलठुला मूर्ति चोरहरू अहिले राजा ! भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिस्र्यो भन्ठानेको ?’
उहाँले पहिलोचोटि प्रधानमन्त्री हुँदा आफूले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको तर बीचमै सरकार ढल्दा नसकेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठधारामा ठेगान लगाउने विचार थियो ।’
त्यति भयानक हत्याकाण्ड गर्ने मान्छेहरू परिवारभित्रै भएको प्रचण्डले दाबी गर्दै भन्नु भयो, ‘यो कुरा सबैले बुझेको छन् नि नेपाली जनताले को हो मुख्य प्लानर र मास्टरमाइन्ड भनेर जनतालाई थाह छ । बिर्से भन्ठानेका छन् तिनीहरूले ?’
प्रचण्डले विदेशीका एक दुई वटा फोटो टाँसेर प्रचार गरेकै भरमा राजतन्त्र फर्किन्छ भन्ने कसैलाई लागेको भए त्यो दिवास्वप्न मात्रै हुने चेतावनी दिनु भयो ।

https://www.facebook.com/share/v/1BqnKnvxFW

प्रतिक्रिया दिनुहोस