५ बर्षसम्म बनेन् फुकोटको पनेरी कुलो, खेत बाँझो, किसान मर्कामा

१४ चैत, कालिकोट । रास्कोट नगरपालिका वडा नम्वर ९ को पनेरी कुलो लालु लैफु सडक खन्दा भत्काएकाे ५ बर्षसम्म पूर्ननिर्माण हुन नसक्दा किसानहरु मर्कामा परेका छन  ।

२०७९ सालको संघीय चुनावमा प्रतिनिधि सभाका उम्मेदवार  महेन्द्रबहादुर शाही र रास्कोट नगरपालिकाका नगरप्रमुखको उम्मेदवार धर्मराज शाहीले चुनावी एजेन्डा बनाउदै आफुले जितेपछि जसरी पनि कुलो बनाउने चुनावमा प्रतिबद्धता गर्नु भएको थियो ।

तर उहाँहरु दुबै जनाले चुनाब जितेको  करिव ३ बर्ष पुगिसक्दा पनि चुनाबी एजेण्डा बनेको कुलो अहिलेसम्म नबन्दा फुकोटका करिब ३ सय घरधुरीका किसानहरु मर्कामा परेका छन ।

५ बर्षदेखि किसानहरुको धान रोप्ने खेतियोग्य जग्गा पानीको अभावले बाँझो छ । जग्गा बाँझो भएपछि किसानहरुले तराईबाट जाने सेतो चामल किनेर परिवार पाल्नुपर्ने बाध्यता भएको छ ।

आकासबाट पानी परेमा मकै लगाउनेसम्म गरेका किसानहरु  त्यो पनि बर्षेनी हुने खडेरीका कारण निरास भएका छन । उल्टै भोकमरीको चपेटाखेपिरहेका छन ।

रास्कोट भन्ने नाम नै रसिलो र उर्जरभूमी भएको जग्गा र सिँचाई सुविधा सम्पन्न ठाउँ भएको बुझाई हुने गरेपनि कुलोको समस्याका कारण मरुभूमी जस्तै हुनथालेको छ ।

लालु –लैफु सडक निमार्णका क्रममा  ५ बर्षअघि २०७६ सालमा फुकोटको भानढुकुरी हुदै डोजर लगाएर सडक खन्न थालेपछि कुलो भत्कीएको थियो ।

लालु लैफु सडक खन्दा भत्कीएकाे पनेरू कुलाे तार्ना भिर

अहिलेसम्म सडक पनि बनेको छैन । यता कुलो पनि बन्न सकेको छैन । जसका कारण किसानहरु न गाडीको सुविधामा छन न त कुलोको सिंचाई सुविधामा छन ।

कुलो भत्कीएपछि अहिले रास्कोट नगरपालिका वडा नम्बर ८ र ९ का झण्डै तीन सय घरदुरीका किसानहरुको खेतियोग्य जग्गा बाँझो भएको हो ।

करिब एक किलोमिटर टाढा फुगाड खोलाबाट ल्याएको कुलो सडकले पुरै भत्कीएपछि सिचाँई सुविधा बञ्चित भएको  किसानहरुले दुखो पोखेका छन ।

रास्कोट नगरपालिका वडा नम्बर ९ थोल्मकी किसान उर्मिला तिरुवाले कुलो नहुदा धान रोप्न छाडेको ५ बर्ष भएको र बजारको चामल किनेर खानुपर्ने बाध्यता भएको दुखेसो पोख्नु भयो ।

उहाँले कुलो बनाई दिन्छौ भनेर माननीय र मेयर ज्यूले भोट मागेको भएपनि चुनाब जितिसकेपछि कुलो बनाउन ध्यान नदिएको बताउनु भयो ।

किसान उर्मिलाले भन्नु भयो ‘ हामीले धान रोप्न छोडेको ५ वर्ष भयो, मकै लगाए बादरले राख्दैनन, हिँउदे बाली त लगाएकै छैन ।  सिचाँई छैन । आकाशे पानीको भर हो पानी नै पर्दैन, खेत बाँझोे छ, बजारको चामल किनेर खान्छौं । कुलो बनाई दिन्छौैं भनेर मेयर, माननीयले भोट मागे तर जितेर मेयर माननीय भए, हाम्रा खेत बाँझै छन । अहिले खेतमा धान नरोपेको पनि धेरै भयो । रातो चामलको भात त सपना जस्तै भयो ।’

कुलो बन्द हुदा  रास्कोटकै राम्रो ज्युलो मानिने सेरिज्युलो, गुयानी, कन्यातोली, ढाकिना र गर्कचा अहिले आकाशे पानीको भर पर्नुपर्दा बाँझो छ ।

सिँचाइ अभावले बाँझो रहेकाे गुयानी ज्युलाे

संघीयतापछि  गाउँघरको स्थानीय सरकारले सडक बनाउने नाममा जथाबाभी डोजर चलाउदा वाढी पहिरोको जोखिम पनि बढेको छ ।  त्यसैमा जनताको दैनिकीसंग जोडिएको कुलो बन्द हुदा किसानको लागि ठुलो मर्का परेको छ ।

रास्कोट नगरपालिका वडा नम्वर ८ का अर्का किसान आनन्द्र न्यौपानले कुलो बन्द हुदा खेतीको भरमा रहेका गाउँले अहिले खेति गर्न नपाएपछि भारतमा काम गरेर बजारको चामल किनेर खानुपर्ने बाध्यता भएको दुखेसो पोख्नु हुन्छ  ।

‘५ बर्षअघि पौजको आधारमा सडक बनाउदा कुलोको नाम निसानी नरहने गरि सडक बनाउने नाममा कुलो भत्काए, न गाडी चल्छ न कुलो चल्छ’ किसान न्यौपानेले भन्नु भयो, ‘हामी करिब तीन सय घर धुरीले सिचाँई गर्न नपाउदा खेत बाँझो छ,  पशु चौपायालाई  पानी खुवाउने सम्म नहुदा सास्ती खेपिरहेकाछौं । खेतीको भरमा रहेका गाउँले अहिले खेति गर्न नपाएपछि भारतमा काम गरेर परिवार पाल्नु परेको छ ।’

उहाँले नेताहरुले कुलो बनाउने चुनाबी एजेण्डा बनाएर जनताको भोटबाट चुनाब जितेपनि किसानहरुको समस्या ज्यूका त्यू रहको बताउनु भयो ।

अहिले रास्कोटवासी किसानहरुले  रास्कोटमा उत्पादन हुने रातो चामल सपना जस्तै हुन थालेको गुनासो पनि गरेका छन । किसान न्यौपानेले चुनावको बेला तत्कालै कुलो बनाउछौ भनेका मेयर धर्मराज शाही र माननीय महेन्द्रबहादुर शाहीले अहिले कुनै चासो नदिएको पनि गुनासो पोख्नु भयो ।

कुलो पूनर्निमार्ण उपभोक्ता समितिका अध्यक्ष नौले तिरुवाले सानो बजेटले गर्दा निर्माणमा ढिलाई भएको बताउनु भयो ।
उहाँका अनुसार सांसद महेन्द्रबहादुर शाहीले  भन्नु भएको छ ‘सडक पुरा बनाएर खोलामा पुल नबन्दासम्म कुलो बनाउन सकिने छैन ।’

रास्कोट नगरपालिका वडा नम्बर ९ का वडा  अध्यक्ष धनबहादुर धामीले  किसानको समस्या धेरै भएको स्वीकार गर्दै यो बर्षमै सडक बनाएर अर्को बर्ष कुलो बनाउने तयारी भएको बताउनु भयो ।

उहाँले किसानको समस्यावारे  आफुले नगरपालिकामा  जोडतोडका साथ कुरा राखेपनि समस्या समाधान हुन नसकेको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘ भानढुकुरी सम्म पक्की कुलो बनिसकेको छ । तर त्यहाँ भन्दा उता तार्नाको भिरमा माथिबाट डोजरले सडक काटिरहेको छ, तलतिर कुलो बनाउनु पर्ने छ, त्यो सडक नबन्दासम्म कुलोको काम अगाडि बढाउन मिल्नेछैन, त्यसैले यो वर्ष सडकको काम बन्छ अर्को वर्षसम्म कुलो बन्छ ।’

वडा नम्बर ९ का  पूर्व वडा अध्यक्ष डबल बोगटीले २०७६ सालदेखि कुलो भत्काएको बताउदै कुलो निर्माणको लागि खाने पानी सिँचाइ तथा उर्जा विकास कार्यालयले क्रमागत रुपमा काम गरिरहेको बताउनु भयो ।

उहाँले पहिलो आर्थिक वर्ष १५ लाख दोस्रोबर्ष २०,तेस्रोबर्ष ४० लाख बजेटले फुकोट स्वास्थ्य चौकीदेखि भानढुकुरीसम्म करिब ७ सय मिटर  कुलो  बनिसकेको जानकारी दिनु भयो ।

उहाँले भोट माग्ने बेला धर्मराज शाही र महेन्द्र शाहीले झुट्टा आश्वासन दिएर जनताबाट भोट मागे पनि अहिले कुलो बनाउने बेला बेवास्ता गरेको बताउनु भयो ।

उहाँले सडक बन्दै गर्दा पनि कुलो बनाउन सकिने बताउदै सडक नबन्दासम्म कुलो बन्न सक्दैन भन्ने कुरा नगरप्रमुख र  महेन्द्र शाहीको  गैर जिम्मेवारी तर्क भएको टिप्पणी गर्नु भयो ।

खाने पानी सिँचाइ तथा उर्जा विकास कार्यालय कालिकोटका कर्मचारी जनक बोगटीले प्रयाप्त बजेटको अभावले कुलो नबनेको बताउनु भयो ।

उहाँले कुलो बनाउन करिव दुई करोड जति बजेट लाग्ने भएको भन्दै यसमा रास्कोट नगरपालिका र माननीयले संघ प्रदेशबाट बजेटको लागि पहल गरिदिन आग्रह गर्नु भयो ।

यस्तै गाहाखेत सिँचाइ कुलाे पनि लालु लैफु सडक खन्दा पुरै भत्किएपछि गाहाखेत, तिखाती र सर्का मजिनाका करिब दुई सय पचास घरदुरीका किसानहरु मर्कामा परेका छन ।

गाहाखेत सिँचाइ कुलाे पूनर्निमार्ण समितिका अध्यक्ष सुरज बुढाले ५ बर्षदेखि किसानहरुको धान रोप्ने खेतियोग्य जग्गा पानीको अभावले बाँझो रहेको र जग्गा बाँझो भएपछि किसानहरुले तराईबाट जाने सेतो चामल किनेर परिवार पाल्नुपर्ने बाध्यता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, `लालु लैफु सडक निमार्णका क्रममा ५ बर्षअघि २०७६ सालमा डोजर लगाएर सडक खन्दा दुई किलोमिटर जति कुलो पुरै भत्कियाे । पहिलेको सरकारले कुलो बनाउने कुनै काम गरेन । गतसाल बाट सानो बजेट १०/१५ लाख खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयले हालिदिएर उपभोक्ता मार्फत काम शुरू गरेका छाैं । तीन कराेड लागत लाग्ने प्रविधिक स्टमेट छ । कुलोकाे विषयमा स्थानीय सरकार र माननीय महेन्द्रबहादुर शाहीसँग बारम्बार कुरा राख्दा उहाँहरूले चासै दिनुभएन ।´

सडक खन्दा भत्कीएकाे पनेरू कुलाे र गाहाखेत सिँचाइ कुलाेकाे मुहान

यस्तै अर्काे रास्कोट नगरपालिका वडा नम्बर ८ को बाँखरकोटको ढाँडको कुलो पनि नबन्दा किसानहरु मर्कामा परेका छन । बाँखरकोट गाउँमा सडक पुर्याउने नाममा जथाभाबी डोजर लगाएर सडक खन्दा ढाँडको कुलो पनि भत्कीएको छ ।

कुलो नहुदा सिरुपाटा, घडेरा, गाहाचौउला, ढाँमारकोटी, भातिपनेरा र उदाज्युलाका खेतहरु बाँझा हुन थालेका छन ।  करिव एक सय घरघुरीले उपभोग गर्ने खेतमा  आकाशे पानीको भर पर्नुपर्दा किसानहरु मर्कामा परेको स्थानीय जय बिकले गुनासो गर्नुभयो ।

उहाँले यो समस्याका वारे  वडा कार्यालय र नगरमा कुरा गर्दा कुनै सुनुवाई नभएको बताउनु भयो ।   ‘वडा अध्यक्ष्य मनिराज बराल (स्टार)ले तत्काल सिँचाइको समस्या हल गर्न भनेर एक पटक वडा कार्यालयबाट ९० एमएमको ५० मिटर जति पाइप दिएको थियो त्यो पाइप प्रयाप्त भएन काम नि भएन’ स्थानीय विकले भन्नु भयो ।

चुनाबी एजेण्डा बनाउने जनप्रतिनिधिहरुले स्थानीय किसानहरुले भोग्नु परेका समस्याहरु यथाशिघ्र सम्बोधन गर्न फुकोटवासी किसानहरुले माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस